धनगढी — जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ मा आगजनी र क्षति भएका कैलालीका स्थानीय तहहरूले आधारभूत सेवा पुनः सञ्चालन गर्न थालेका छन् । तर त्यसका लागि उनीहरूले कतै सहयोगी गुहार्दै सामग्री जुटाइरहेका छन् भने कतिपय वडा कार्यालय विद्यालय र स्वास्थ्य संस्थाका भवनबाट सञ्चालन गर्न थालिएको छ । कैलालीको गौरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीका अनुसार प्रारम्भिक विवरण अनुसार साढे सात करोड बराबरको क्षति अनुमान गरिएको छ । ११ वटा वडा रहेको उक्त नगरपालिकासहित ९ वटा वडा पूर्ण रूपमा र दुईवटा वडामा आंशिक क्षति भएको छ ।
केसीका अनुसार नगरपालिकाले सर्वपक्षीय सर्वदलीय बैठक गरेर सेवा सञ्चालनका लागि जिन्सी सामग्री सहयोगका लागि सार्वजनिक अपिल नै गरेको थियो । ‘सोही अपिलका आधारमा हालसम्म करिब ८० लाख बराबरका जिन्सी सामग्री सहयोग प्राप्त भएका छन्,’ प्रमुख प्रशासकीय अधिकृत केसीले भने, ‘व्यापार व्यवसायी, व्यक्तिगत लगायतका क्षेत्रबाट सहयोग जुटाएर कार्यालय सञ्चालन गरिरहेका छौं ।’ कैलालीमा अत्यधिक क्षति भएको अर्को स्थानीय तह कैलारी गाउँपालिका पनि हो । कैलारीका सूचना अधिकारी यगम कलेलका अनुसार नौवटै वडा कार्यालयसहित गाउँपालिका भवनका सामग्रीमा क्षति पुर्याइएको थियो । कैलारीले पनि विभिन्न सहयोगीसमक्ष आह्वान गरेर अत्यावश्यक सामग्री जुटाएर काम चलाउन थालेको छ ।
पूर्ण रूपमा क्षतिग्रस्त भएका वडा कार्यालय वैकल्पिक ठाउँमा सारेर सेवा सञ्चालन सुरु गरिएको कलेलले बताए । ‘१, २, ५ र ९ नम्बर वडा कार्यालय सरसफाइ गरेर आफ्नै भवनबाट पुनः सञ्चालन गरिएको भए पनि वडा नम्बर ३ युवा क्लबको भवनबाट, ४, ७ र ८ नम्बर वडा कार्यालय स्थानीय स्वास्थ्य संस्था भवनबाट सञ्चालन गर्न थालेका छौं,’ उनले भने, ‘६ नम्बर वडाको कार्यालय विद्यालय भवनबाट सञ्चालन गरिएको छ ।’
गोदावरी नगरपालिकामा ९ करोड ५४ लाख क्षति भएको प्रारम्भिक अनुमान रहेको इन्जिनियर जनक खड्काले बताए । ‘वडा कार्यालयहरूमा ठूलो क्षति नभए पनि पालिकाको भवन भने पूर्ण रूपमा क्षतिग्रस्त भएको छ,’ खड्काले भने, ‘कार्यालय सञ्चालनका लागि अत्यावश्यक सामग्री जुटाउन सार्वजनिक रूपमा सहयोगका लागि आग्रह गरेका थियौं । सोही आधारमा केही सामग्री जुट्दै गएका छन् । त्यसैबाट अत्यावश्यक सेवाहरू सञ्चालन गर्न थालेका छौं ।’ भवन मर्मतका लागि टेन्डर गरिएको र प्रक्रियामा रहेको पनि उनले बताए ।
अत्यधिक क्षति भएको अर्को स्थानीय तह घोडाघोडी नगरपालिका हो । घोडाघोडीका अधिकृत उमेश रेग्मीका अनुसार प्रारम्भिक रूपमा तयार गरिएको विवरणअनुसार साढे आठ करोड क्षति अनुमान गरिएको छ । नगर प्रवक्ता घनश्याम ओझाका अनुसार सहयोगीबाट सामग्री जुटाएर अत्यावश्यक सेवा सुचारु गरिएको छ । ‘आगजनी र तोडफोडबाट बचेका केही सामग्री र केही सरसहयोग जुटाएर अहिले काम चलाएका छौं,’ उनले भने ।


