कञ्चनपुर: नेपाल कम्युनिष्ट पार्टी (बहुमत) कञ्चनपुर जिल्ला समितिले महाकाली प्रादेशिक अस्पतालमा देखिएका अनियमितता, लापरबाही र सेवाग्राहीमाथि भइरहेका अन्यायका विषयमा कडा आपत्ति जनाएको छ। पार्टीले अस्पताल प्रशासनलाई पत्रमार्फत ७ दिनभित्र समस्या समाधान नगरे जनस्तरबाट आन्दोलनमा उत्रिने चेतावनी दिएको छ।
पार्टीका जिल्ला सचिव डम्बर बिष्टले हस्ताक्षर गरेको चेतावनीपत्रमा अस्पतालको सेवा व्यवस्थापनदेखि कर्मचारी व्यवहारसम्ममा सुधारको माग गरिएको छ। पत्रमा जनताले सहज उपचार नपाएको, आवश्यक औषधि अभाव, समयमै चिकित्सक नपाइने र विभिन्न सेवा अव्यवस्थित रहेको उल्लेख छ। पत्रमा भनिएको छ, “महाकाली प्रादेशिक अस्पतालले जनताको करबाट सञ्चालित संस्थाको रुपमा जिम्मेवारी पूरा गर्न नसकेको कारण सेवाग्राहीमा असन्तुष्टि बढ्दै गएको छ। हाम्रो पार्टीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुधार नदेखिएकाले यसपटक गम्भीर रूपमा चेतावनीपत्र बुझाइएको हो।”
पार्टीले उठाएका मुख्य मागहरू
अक्सिजन प्लान्ट वरपरको सरसफाइ सुधार गरी तत्काल सञ्चालनयोग्य बनाउन।
अस्पतालको औषधि आपूर्तिमा देखिएको समस्या अन्त्य गरी नियमित आपूर्ति सुनिश्चित गर्न।
राष्ट्रिय तहका कर्मचारीहरूका सेवा र पारिश्रमिकमा असमानता हटाउन।
भ्ज्क् प्रणालीमार्फत स्वास्थ्य सेवा र शुल्क सम्बन्धी व्यवस्थापन पारदर्शी बनाउन।
इमर्जेन्सी, प्रसूति, एक्स–रे, ईएनटी र अन्य सेवा सहज र नियमित सञ्चालन गर्न।
अस्पतालमा हुने अनावश्यक विलम्ब, ढिलासुस्ती र दुर्व्यवहार अन्त्य गर्न।
कर्मचारीको मनोबल उच्च राख्ने वातावरण बनाउन र स्थानीय तहसँग सहकार्य बढाउन।
पार्टीले चेतावनीपत्रमा उल्लेख गरे अनुसार अस्पताल प्रशासनले गुनासो र जनचासोका विषयमा उदासीनता देखाइरहेको छ। सोही कारण अब सुधार नभए आन्दोलनका विभिन्न कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको बताइएको छ। पत्रमा १२ बुँदामा अस्पताल प्रशासनका कमजोरी र सुधारका सुझावहरू पनि समेटिएका छन्। तीमध्ये प्रमुख बुँदामा अस्पतालको आर्थिक पारदर्शिता, औषधि खरिद प्रक्रिया, चिकित्सकको उपस्थिती, सफाइ व्यवस्था र बिरामीप्रति व्यवहारमा सुधारको माग गरिएको छ।
पार्टीले अन्त्यमा भनेको छ, “यदि ७ दिनभित्र समस्या समाधान भएन भने हामी बाध्य भएर सडकमा उत्रिनेछौं। यसबारेको सम्पूर्ण जिम्मेवारी अस्पताल प्रशासनले लिनुपर्नेछ।”


