धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले अछामको साँफेबगर नगरपालिका– ३, हाटबजारमा गत शनिबार राति भएको आगलागीबाट पीडितलाई आर्थिक सहयोग गर्ने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा मुख्यमन्त्री निवासमा बुधबार बसेको प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले अछामका आगलागीपीडितलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । साँफेबगरमा नगरपालिकामार्फत तत्कालका लागि पीडितलाई आठ लाख आर्थिक सहयोग गर्ने निर्णय बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नगरपालिकालाई मापदण्ड बनाएर उक्त सहायता रकम पीडितलाई वितरण गर्न भनिने कार्यालयको भनाइ छ ।
स्थानीय प्रशासनका अनुसार आगलागीबाट एउटा घर र नौवटा पसलमा क्षति पुगेकोमा सातवटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । प्रदेश विपत् व्यवस्थापन परिषद्को बैठकले गत भदौ महिनामा दार्चुला जिल्लाको व्यास गाउँपालिका– १, टिंकर र छाङरू क्षेत्रमा बाढीपहिरोबाट क्षतिग्रस्त भएका पुलहरू तत्काल पुनर्निर्माण गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
त्यस्तै, कञ्चनपुर जिल्लाको लालझाडी गाउँपालिका तथा बेलौरी, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधराचाँदनी नगरपालिकामा वन्यजन्तुको आक्रमण हुने, मानवीय र बालीनाली हुने क्षति न्यूनीकरणका लागि रोकथामका उपायहरू अवलम्बन गर्न, प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षा उपकरण वितरण गर्न उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई सिफारिस गर्ने निर्णयसमेत गरेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।


