धनगढी । कैलाली जिल्ला अदालतमा २००७ सालदेखि हालसम्मका ३० हजार बढि मुद्दाका मिसिल जलेका छन् ।
२४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले अदालत नियन्त्रणमा लिएर आगजनी तथा ताेडफाेड गरेपछि ३० हजार तीन सय ४४ मुद्दाका मिसिल फेला नपरेको अदालतले जनाएको छ ।
जिल्ला अदालतका निमित्त श्रेस्तेदार दिवानीराम लाेहारले सार्वजनिक गरेकाे जलेर नष्ट भएका वा फेला नपरेका मुद्दाकाे विवरणमा विभिन्न शाखामा रहेका मुद्दाका मिसिल अहिलेसम्म नभेटिएकाे बताएका छन्। लाेहारले अभिलेख शाखामा २००७ सालदेखिका २९ हजार ७७७ मुद्दाका मिसिल फेला नपरेकाे उल्लेख गरेका छन् ।
यस्तै, मुद्दा दर्ता फाँटका चालू र फैसला भएका २११, मुद्दा फाँट सरल-१ मा १०७, मुद्दा फाँट सरल-२ मा रहेका २४६, मुद्दा फाँट समान्य-१ र २ मा रहेका तीन थान मुद्दाका मिसिल फेला नपरेकाे उल्लेख छ ।
तहशिल शाखामा चालू र तामेलीमा रहेका एक हजार छ सय ६० निवेदन फाईल, चालू आर्थिक वर्ष २०८२/८३ मा नयाँ दर्ता र जिम्मेवारी सरेका एक हजार आठ सय ३२ मध्ये पाँच सय ६७ थान मुद्दा फेला नपरेकाे उल्लेख छ ।
चालू र फैसला भएका दुई हजार ४०१ मुद्दाका फाइल भने सुरक्षित भेटिएकाे अदालतले जनाएको छ । जलेर नष्ट भएका तथा फेला नपरेका मिसिल पुनःप्राप्तिका लागि सर्वोच्च अदालतबाट जारी “विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२” बमोजिम गर्ने भनिएकाे छ ।
जिल्ला अदालतले सम्बन्धित पक्षहरू, कानून व्यवसायी, सरकारी वकिल कार्यालय, अनुसन्धान निकाय र सरोकारवाला व्यक्तिहरूलाई आफूसँग रहेका मुद्दासँग सम्बन्धित अभियोपत्र, फिरादपत्र, प्रतिउत्तरपत्रलगायतका कागजातका प्रतिलिपिहरू अदालतमा बुझाउन अनुरोध गरेको छ।
अदालतले ती कागजातहरूको आधारमा हराएका मिसिलहरू पुनःसंरचना र प्रमाणीकरण गर्ने तयारी गरेको जनाएको छ।
केही मुद्दा सर्वोच्च अदालत वा उच्च अदालत दिपायलमा पठाइएका हुनसक्ने हुँदा सो अदालतहरूसँग समन्वय भइरहेको पनि अदालतले जनाएको छ ।

