धनगढी । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायतका वाम घटकबीच बुधबार ‘नेपाली कम्युनिष्ट पार्टी’ नाममा एकता घोषणा हुनुअघि नै माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफ्नै समूहको ‘प्रगतिशील अभियान’ घोषणा गरेका छन्। यस घोषणासँगै माओवादी केन्द्रभित्र नयाँ राजनीतिक ध्रुवीकरणको संकेत देखिएको छ।
माओवादी केन्द्रबाट औपचारिकरूपमा अलगिएका शर्माको पक्षमा केन्द्रमा राम कार्की, सुदन किराती, अन्जना बिशंखेललगायतका नेताहरू खुलेर लागेको देखिन्छ। यस्तै सुदूरपश्चिममा पनि केही माओवादी नेताहरू शर्माको अभियानतर्फ खुलेका छन्। सुदूरपश्चिमका केन्द्रीय सदस्य कैलालीका ओमप्रकाश पुन, भगत बडुवाल र अछामका दीपक थापा जनार्दन शर्माको पक्षमा खुलेर लागेका छन्। संविधानसभा सदस्यसमेत रहेका भगत बडुवाल गत निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेर पराजित भएका थिए। पुन भने पार्टी एकता प्रक्रियाबाट माओवादी केन्द्रमा आएका हुन्।
बडुवालले जनार्दन शर्माको अभियानलाई सुदूरपश्चिममा पनि विस्तार हुँदै गएको दाबी गरे। “अहिले छलफलमा छौं, नेताहरू खुल्दै हुनुहुन्छ,” उनले भने, “यहाँ अरु केही नेता पनि जनार्दनको पक्षमा हुनुहुन्छ, केही दिनमै सबै प्रष्ट हुन्छ।” उनका अनुसार केन्द्रीय सदस्य बिमला सिंह, हेमराज भट्टराई, टेकेन्द्र भट्टलगायतका नेताहरू पनि जनार्दन शर्माको पक्षमा रहेका छन्। तर माओवादी सुदूरपश्चिम प्रदेश समितिका एक पदाधिकारीले भने शर्माको अभियानले प्रदेशमा ठूला असर पार्ने दाबी अस्वीकार गरे। उनका अनुसार सुदूरपश्चिममा अधिकांश नेता र कार्यकर्ता अझै प्रचण्ड नेतृत्वकै पक्षमा एकीकृत छन्। “हामी सबै एकै ठाउँमा छौं,” उनले भने, “एक–दुई जनाले बाटो बिराएर जाँदैमा अन्यथा मान्नु हुँदैन।”
यसबीच नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लव समूहबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा साम्यवादीलगायत विभिन्न वाम घटकहरूबीच बुधबार काठमाडौंमा एकता घोषणा गरिएको छ।
नयाँ पार्टीको नाम “नेपाली कम्युनिष्ट पार्टी” राखिएको छ। वाम घटकहरूको एकताले देशभरका वामपन्थी कार्यकर्तामा उत्साह थपेको बताइन्छ।

