धनगढी: अपाङ्गता समावेशी विकास मिसन टु नेपाल (DID Mission to Nepal) ले आवागमन सहयोग अभियान अन्तर्गत अपाङ्गता भएका नागरिकहरूलाई निःशुल्क सहायक सामग्री वितरण गरेको छ। संस्थाले असहाय र आर्थिक रूपमा कमजोर भई सहायक सामग्री किन्न नसकेर घरभित्र बस्न बाध्य भएका अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक समायोजनमा सहयोग पुर्याउने उद्देश्यले यो अभियान सञ्चालन गर्दै आएको छ।
उक्त अभियान अन्तर्गत आज धनगढी उपमहानगरपालिका–१४ निवासी लालसिंह भाटलाई एउटा व्हीलचेयर प्रदान गरिएको छ। भाट व्हीलचेयरको अभावमा हिँडडुल गर्न नसकी पिठ्युँमा बोकेर घरभित्र–बाहिर आवतजावत गर्नुपर्ने बाध्यतामा हुनुहुन्थ्यो। संस्थाले उहाँको दैनिकी सहज बनाउनका लागि १ थान व्हीलचेयर हस्तान्तरण गरेको हो।
सहयोग वितरण कार्यक्रममा संस्थाका प्रतिनिधिहरूले यस प्रकारका सहयोगले अपाङ्गता भएका नागरिकको आत्मनिर्भर जीवनयापनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए। साथै, “DID Mission to Nepal” ले देशका विभिन्न स्थानमा रहेका आवश्यकता अनुसारका अपाङ्गता भएका व्यक्तिहरूलाई व्हीलचेयर, सेतो छडी, वाकर, क्रचेस लगायतका सहायक सामग्री निःशुल्क वितरण गर्ने अभियानलाई निरन्तरता दिने जनाएको छ।


