धनगढी: क्रोसियामा रोजगारी गर्ने युवाहरूले कैलालीको गोदावरी नगरपालिका – १२ का तेज बहादुर भण्डारीको परिवारलाई सोलार सहयोग गरेका छन् । आर्थिक विपन्नताका कारण बिजुली बत्तीको उपयोग गर्न नपाएका भण्डारी परिवारलाई क्रोसियामा रोजगारीमा रहेका युवाहरूले सोलार सहयोग गरेका हुन् ।घरमा सोलार जडान भएपछि तेजबहादुरले खुसी व्यक्त गरेका छन् । उनले आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण घरमा बिजुली जडान गर्न नसकिएको बताए ।
घरमा तेज बहादुर र उनकी भाइ बुहारी मात्र बस्ने गर्दछन् । तेजबहादुर कि भाइ बुहारी सरु भण्डारीले अहिलेसम्म झोरोको उज्यालोमा गुजारा गर्दै आएको बताइन् । ‘सिसमको झोरो खोजेर बाल्थ्यौ, टर्च छिमेकीको घरमा गएर चार्ज गर्नु पर्ने बाध्यता थियो’ उनले भनिन् ‘अब सोलार बत्तीले सहज हुने विश्वास छ ।’ स्थानीय सेर बहादुर कोलीले भण्डारी परिवार विपन्न भएका कारण सोलार बत्ती जडान हुँदा सहज हुने बताए । स्थानीय खड्कसिंह बडैलाले आर्थिक विपन्नताका कारण दुई छाक टार्न समेत समस्या भएका भण्डारी परिवारलाई युवाहरूले गरेको सहयोगका लागि धन्यवाद दिए । ‘आफू समस्यामा परेर परदेश गएका युवाले स्वदेशको दुःख बुझी सहयोग गर्दा आँखा रसायो’ उनले भने ‘अन्धकारमा भएको परिवारलाई उज्यालोमा ल्याउने युवाहरू लाई धन्यावाद दिन चाहन्छु ।’
क्रोसियामा रोजगारीका लागि गएका युवाहरूले सहयोगी हातहरू समूह स्थापना गरी सहयोग गरिरहेका छन् । यस अघि उक्त समूहले अस्थायी प्रहरी पोस्ट ओलानीलाई कम्प्युटर र प्रिन्टर सहयोग गरेको थियो ।

