धनगढी: धनगढीका महिलाहरू अब घरको भान्सासम्म सीमित रहन चाहँदैनन्। उनीहरूले आफ्नै हातले बनाएका परिकार लिएर बजारसम्म पुगेका छन्। घरमै पाक्ने परिकार लिएर मेलामा बिक्री गर्न थालेका उनीहरू अहिले शनिबारिय मेलाका आकर्षण बनेका छन्। धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको शनिबारिय मेलामा विभिन्न समुदायका महिलाहरूले आफ्ना परिकार प्रदर्शन गर्दै बिक्री गर्छन्। थारु, डोटेली, नेवारी, राना समुदायका महिलाहरूले सेलरोटी, ढिक्री, अचारदेखि लिएर मासुका विशेष परिकारसम्म मेलामा राख्ने गरेका छन्।
धनगढी–५ की सुनिता राना गत वर्ष पहिलो पटक उपमहानगरले सञ्चालन गरेको शनिबारिय मेलामा सहभागी भइन्। स्थानीय मासु र राना परिकारसहितको स्टल राख्दै उनले आफ्नो संस्कृतिको प्रचार–प्रसार मात्रै होइन, व्यवसायिक ज्ञान पनि आर्जन गर्न सफल भइन्।
घरमै बनाएका परिकार बिक्री गर्न थालेपछि उनीमा व्यवसायिक सोच विकसित भयो। अहिले उनले आफ्नै घरमा होमस्टे सञ्चालन गरेकी छन्। यस पटकको मेलामा पनि उनको स्टल आकर्षक रूपमा सजिएको छ। धनगढीकी राधा मल्ल जस्ता धेरै महिलाहरू अहिले अर्डर अनुसार घरमै सेलरोटी र अचार तयार पारेर बिक्री गर्दै आएका छन्। उनीहरूको भनाइमा उपमहानगरले आयोजना गर्ने शनिबारिय मेलाले महिलाहरूमा आत्मविश्वास र व्यवसायिक सोच जगाएको छ।
धनगढी–१३ की पुनाकुमारी तामाङ चन्दले मेलामा १० किसिमका अचार प्रदर्शन गरेकी थिइन्। उनका अनुसार मेलाले बजारमा आफ्नो उत्पादन बिक्री गर्न सहज बनाएको छ। “हप्तामा एक दिन भए पनि अचार बिक्री गर्न पाउँदा खुशी छु,” उनले भनिन्, “यसले बजारीकरणमा पनि ठूलो सहयोग पुर्याएको छ।” धनगढी–२ सन्तोषीटोलकी सुनिता रावतले मेलामा अर्गानिक चटपटेको स्टल राखेकी थिइन्। उनले मेलामा सहभागी हुन पाउँदा उत्साहित हुँदै भनिन्, “उपमहानगरले महिला उद्यमीलाई मेला मार्फत हौसला दिएको छ, यो सबैका लागि सकारात्मक कदम हो।”
यस्तै, धनगढी–५ तारानगरकी कविता पन्त ले सुत्केरी मसला, प्रोटिन लड्डु, बच्चाको लिटो र मासुको अचार बिक्रीका लागि स्टल राखेकी थिइन्। उनका अनुसार मेलाले महिलाहरूलाई आर्थिक रूपमा सहयोग पुगेको छ। “मेला पुनः सुचारु भएकोमा निकै खुशी लागेको छ,” उनले भनिन्।
६६ वटा स्टल सञ्चालनमा
गत वर्षबाट सुरु गरिएको शनिबारिय मेला गर्मी समयमा स्थगित गरिएको थियो। अहिले फेरि मेला नियमित रूपमा सञ्चालनमा आएको छ। धनगढी उपमहानगरपालिकाले महिलाहरूका लागि निःशुल्क स्टल उपलब्ध गराइरहेको छ। हातमा सिप भएका महिलाहरूलाई आयआर्जनमा प्रोत्साहन गर्ने उद्देश्यले यो मेला आयोजना गरिएको हो। हाल मेलामा ६६ वटा स्टल सञ्चालनमा छन्, जसबाट स्थानीय खानाका परिकार बिक्री भइरहेको उप–प्रमुख कन्दकला कुमारी रानाले जानकारी दिइन्। शनिबारिय मेलाले धनगढीका महिलाहरूमा नयाँ चेतना जगाएको छ। मेलाले महिलाको सिप र सिर्जनशीलतालाई बजारमा पुर्याएको छ भने उनीहरूलाई आत्मनिर्भर र आत्मबलयुक्त बनाएको छ।
उपमहानगरपालिकाद्वारा सुरु गरिएको यो पहलले घरभित्र सीमित महिलालाई सार्वजनिक रूपमा व्यवसायिक यात्रातर्फ अघि बढ्न प्रेरित गरेको छ। अब घरको भान्सामा पाक्ने परिकार मात्रै होइन, ती महिलाहरूको परिश्रम र सिप धनगढीको बजारमा सफलताको स्वाद बनिरहेका छन्।

