धनगढी: नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदूरपश्चिम प्रदेश समितिले दुर्घटनामा परेका एक मजदुरलाई बिमाबाट उपचार खर्च उपलब्ध गराएको छ । गत वर्ष प्रभु लाइफ इन्स्योरेन्समार्फत् गरिएको दुर्घटना बिमाबाट संगठनले पहिलो भुक्तानी वितरण गरेको हो । धनगढीमा आयोजित एक कार्यक्रमबीच ट्यांकरबाट लडेर घाइते भएका ट्यांकर चालक खुशिराम चौधरीलाई उपचार खर्च स्वरूप ९० हजार रुपैयाँको चेक हस्तान्तरण गरिएको हो । चेक हस्तान्तरण समारोहमा संगठनका प्रदेश अध्यक्ष ललित चन्द, सचिव रामसिंह महरा र ट्यांकर इकाइ अध्यक्ष पुस्कर गुरुङ उपस्थित थिए ।
अध्यक्ष चन्दका अनुसार, सुदूरपश्चिम प्रदेशमा कार्यरत १ सय ८० जना ट्यांकर चालक तथा सहचालक मजदुर र ४ सय जना बस क्षेत्रका मजदुरहरूको संगठनमार्फत् १ लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरिएको छ । “दुर्घटनामा परेपछि मजदुरहरूले उपचारका लागि रकम जुटाउनुपर्ने बाध्यता हटाउनका लागि हामीले सबैलाई बिमामा आबद्ध गरेका हौं,” उनले भने । उनका अनुसार, बिमाको नवीकरण हरेक वर्ष गरिँदै आएको छ, जसअन्तर्गत दुर्घटनामा परी घाइते भएका मजदुरले अधिकतम १ लाख रुपैयाँसम्म उपचार खर्च पाउने व्यवस्था गरिएको छ ।
अध्यक्ष चन्दले संगठनको यो निर्णयले मजदुरहरूलाई उपचारमा सहजता मिलेको र बिमाबाट राहत पाउन थालेपछि उनीहरूमा सुरक्षाको भावना बढेको बताए । उनका अनुसार, सगंठनले आगामी दिनमा सबै यातायात मजदुरलाई बिमाको दायरामा ल्याउने योजना बनाएको छ ।

