डोटी । डोटीमा एक शिक्षिकाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले प्रतिवादीको बयान लिने प्रक्रिया सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रामचन्द्र जोशीका अनुसार जिल्ला शिक्षा समन्वय इकाइका शिक्षा अधिकृत गणेशबहादुर रावलमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ ।
कात्तिक १० गते पूर्वीचौकी गाउँपालिका–१ निवासी २७ वर्षीया शिक्षिका जानकी खड्का रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । बाजुराको भानोदय माध्यमिक विद्यालयमा गणित शिक्षिकाका रूपमा कार्यरत जानकीले मृत्युअघि लेखेको पत्रमा शिक्षा अधिकृत रावलले विवाहका लागि दबाब दिँदै धम्की दिएको उल्लेख छ ।
परिवारले रावलमाथि ‘विवाह नगरे मारिदिन्छु’ भन्ने धम्कीका कारण जानकीले आत्महत्या गर्न बाध्य भएको दाबी गरेका छन् । घटनापछि प्रहरीले रावललाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट आउन बाँकी छ र जानकी र रावल दुवैका मोबाइल फोन नियन्त्रणमा लिएर थप प्रमाण संकलन भइरहेको छ । स्थानीय प्रतिनिधि र महिला नेतृहरूले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।


