धनगढी । भदौ २३ गतेको आन्दोलन र २४ गतेको प्रदर्शनका क्रममा भएको आगजनी र तोडफोड घटनाको जाँचबुझ गर्न गठित उच्चस्तरीय आयोगको टोलीले शुक्रबार कैलालीमा अनुगमन गरेको छ। आयोगका सदस्य विशेश्वर प्रसाद भण्डारीको नेतृत्वमा आएको टोलीले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत लगायतका कार्यालयहरूको स्थल अनुगमन गर्दै सम्बन्धित निकायहरूसँग अन्तरक्रिया गरेको हो। अनुगमनपछि आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सदस्य भण्डारीले आयोग देशभरका प्रतिनिधिमूलक स्थानहरूमा पुगेर घटनाको वास्तविक अवस्था बुझिरहेको बताए। उनले तोडफोड र आगजनीमा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग सर्वत्र उठेको उल्लेख गर्दै, दण्डहीनताले प्रश्रय नपाओस् भन्ने हाम्रो प्राथमिकता हो, भने।
भण्डारीले घटनाका पीडितहरूमा अझै न्याय नपाइने डर रहेको जानकारी दिँदै आयोगले निष्पक्ष छानबिनमार्फत सत्यतथ्य सार्वजनिक गर्ने प्रतिबद्धता जनाए। कर्णाली प्रदेश राजधानी सुर्खेतमा अनुगमन सकेर टोली कञ्चनपुर हुँदै कैलाली पुगेको थियो। अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई तत्काल कारबाही गर्न, क्षतिपूर्ति उपलब्ध गराउन र निर्दोष नागरिकका घर तथा सम्पत्तिमा भएको क्षतिलाई सम्बोधन गर्न माग गरे। स्थानीयहरूका अनुसार केही निर्दोष परिवारका घर जलाइएका कारण बालबालिका र वृद्धहरूलाई बसोबासमा समस्या भएको छ।
कार्यक्रममा सहभागी राष्ट्रिय सभा सदस्य नारायण दत्त भट्टले भदौ २३ र २४ गतेका आन्दोलनका क्रममा जेनजीको नाममा अराजक तत्वहरू हावी भएर देशभर विनाश मच्चाएको आरोप लगाए। उनले भने, “देशका सार्वजनिक सम्पत्ति जलाइरहेका, तोडफोड गरिरहेका व्यक्ति खुलेआम हिँडिरहेका छन् तर राज्यले तिनलाई संरक्षण गरिरहेको जस्तो देखिन्छ, यो अत्यन्त गम्भीर विषय हो।” भट्टले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही हुनुपर्ने माग गर्दै दण्डहीनताको संस्कृतिले पुनः बल नपाओस् भनेर सचेत गराए।
आयोगको टोलीले कैलालीमा संकलित विवरण, स्थानीय सरोकारवाला र पीडितहरूको भनाइ संकलन गरी प्रतिवेदन तयार पार्ने तयारी गरेको जनाएको छ।


