धनगढी: कैलालीका पर्यटकीय गन्तव्य पर्यटकले भरिभराउ भएका छन् । टीकापुर पार्क, चिसापानी, राजकाँडा, घोडाघोडी ताल, गोदावरी, खानीडाँडालगायत पर्यटकीय स्थलमा हिजोआज आन्तरिक पर्यटकको भिड लाग्ने गरेको छ । यहाँको प्रमुख पर्यटकीय गन्तव्य टीकापुर पार्कमा घुम्न र वनभोज खानेको घुँइचो लाग्ने गर्छ । सोमबार मात्र टीकापुर पार्क घुम्न आउनेको संख्या सात हजार नाघेको पार्कका इन्चार्ज अर्जुन कुँवरले बताए । कर्णाली नदीको किनारसँग जोडिएको निकै रमणीय र सुन्दर टीकापुर पार्क वनभोजस्थल पनि हो । ‘हिजो सात हजारभन्दा बढीले टिकट काटेका थिए, आज पनि भिड उस्तै छ,’ कुँवरले भने, ‘वनभोज खान आउने समूह पनि धेरै हुन्छन् ।’
पार्क प्रवेशका लागि विद्यार्थीलाई ३० रुपैयाँ र अरूलाई ५० रुपैयाँ शुल्क तोकिएको छ । कैलाली, कञ्चनपुुरसँगै बाँके, बर्दिया, दाङ, सुर्खेत, कपिलवस्तुलगायत देशका विभिन्न जिल्लाबाट पर्यटक आउने गरेका कुँवरले बताए । राजा महेन्द्रका पालामा बनाइएको यो देशकै ठुलो पार्क हो । तत्कालीन समयमा राजा महेन्द्र, वीरेन्द्र, राजपरिवारका सदस्यहरू टीकापुर पार्क घुम्ने गरेको इतिहास छ । कर्णाली नदीमाथि एउटै पिलरमा अडिएको आकर्षक पुल र त्यहाँको सुन्दरता हेर्न चिसापानी पुग्नेको संख्या पनि उत्तिकै छ । कर्णाली पुल, कर्णाली नदी किनारमा फोटो खिच्ने, टिकटक बनाउनेको बिहानैबाट भिड लाग्ने गर्छ । पर्यटकको चहलपहल बढेपछि चिसापानीका होटेलमा पनि कारोबार बढेको स्थानीय व्यवसायी बताउँछन् । उनीहरूका अनुसार अधिकांश पर्यटक दिउँसो घुमफिर गरेर बेलुकी फर्कने गर्छन् भने कतिपय बास बस्ने गरी आउँछन् ।
जिल्लाको पहाडी क्षेत्र मोहन्याल गाउँपालिका– ७, स्थित राजकाँडा जिल्लाकै ‘टे«किङ’को प्रमुख गन्तव्य हो । चिसापानीबाट तीन–चार घण्टाको पैदल यात्रापछि राजकाँडा पुगिन्छ । राजकाँडामा धुलिकोट होमस्टे सञ्चालन गर्दै आएका मीनबहादुर बोहराले पर्यटकको संख्या बढेपछि आवास व्यवस्थापनमै समस्या भइरहेको बताए । कैयौँ भंगालोमा विभाजित कर्णाली नदी, सुन्दर डाँडाकाँडाको दृश्यावलोकन गर्दै पहाड उक्लिएपछि राजकाँडामा ऐतिहासिक धुलिकोेट दरबारको भग्नावशेष देख्न सकिन्छ । चाडबाडको बिदामा पर्यटकको संख्या निकै बढेको बोहराले बताए ।
पूर्व–पश्चिम राजमार्गसँगै जोडिएकाले विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी ताल पुग्न सहज र सुगम छ । घोडाघोडी र सँगैको ओजुवा ताल घुम्न पर्यटकका लागि पैदलमार्ग बनाइएको छ । घोडाघोडीमा डुंगा सवारसँगै घोड सवारी गर्न मिल्छ । घोडाघोडी सामुदायिक वनका अध्यक्ष दीपक शाहका अनुसार अहिले घोडाघोडी घुम्न आउनेको संख्या दैनिक दुई हजारभन्दा बढी हुने गरेको छ ।
प्रदेशको प्रमुख व्यापारिक केन्द्र धनगढीबाट नजिक चुरे पहाडको फेदमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्र गोदावरी घुम्नेको संख्या पनि उत्तिकै छ । गोदावरी घुम्न आएका कञ्चनपुरका हरिदत्त जोशीले साथीहरूसँग घुम्न आएको बताए । राष्ट्रिय झन्डाहरू राखेर आकर्षक बनाइएको गोदावरीस्थित गोदावरी नदीमाथिको काठेपुलमा फोटो खिच्ने, टिकटक बनाउनेको भिड हुने गर्छ । त्यहाँ जिपलाइन पनि सञ्चालनमा छ । गोदावरी पुग्ने कतिपय पर्यटक भीमदत्त राजमार्ग हुँदै माथि खानीडाँडासम्म पनि पुग्ने गर्छन् ।

