बाजुरा: बाजुराको उच्च हिमाली क्षेत्रमा चिसो बढेसँगै हिमाली गाउँपालिका विच्छ्या रुगिनका बाढी पहिरोपीडित चिन्तित भएका छन् । गत साउन २८ गते राति विच्छ्या खोलामा आएको बाढीले यहाँका वडा नं –१ विच्छ्या र –५ रुगिनका करिब ४१ घरपरिवार विस्थापीत भएपछि अहिले उनीहरु त्रिपालको बासमा रहेका छन् । गर्मी समयमा पनि चिसो हुने यो ठाउँमा हिउँदमा कसरी त्रिपालको बास गर्ने होला भन्ने चिन्ता यती बेला उनीहरुमा छ ।
हिउँदको महिना यहाँ धेरै चिसो हुन्छ । यो चिसोमा बालबच्चा कसरी त्रिपालमा राखेर बस्ने अहिले निकै डर लाग्न थालेको हिमाली गाउँपालिका वडा नं – १ विच्छ्याका सब्बले थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “बर्खाको समय त अलि चिसो कम हुन्थ्यो । त्यो बेलामा त जसो तसो गरी त्रिपालमै गुजारा गरेर बस्यौ । अब यती बेला चिसो बढ्न सुरु भयो, यो चिसोमा कसरी यत्रो जवान परिवार बास बस्ने निकै चिन्ता लागेको छ ।” जसरी यहाँको स्थानीय सरकारले अहिलेसम्म खाद्यान लुगा कपडा लगायतका राहत सामग्री सहयोग गरेको छ, त्यसैगरी प्रदेश र सङ्घीय सरकारले पनि कतै घरबासको व्यवस्था गरिदिए चिसोको बेलामा बास बस्न सहज हुने थापाले बताउनुभयो ।
बाढीपहिरोले हिमाली गाउँपालिका वडा नं – १ विच्छ्यामा ८ घर बगाएको र नौ घर पूर्ण जोखिमा पारेका छन् भने यहाँको वडा नं – ५ कवाडीमा पनि १६ घर बगाएको र ३२ घरमा पूर्ण क्षति भएका छन् । यहाँका सबै २४ घर विस्तापीत र ४१ घर पूर्णरुपमा क्षति भएको थियो । हामीसँग जती सहयोग गर्ने क्षमता थियो, त्यो सहयोग गरेका छौ । अहिले यहाँका स्थानीयलाई चाहिएको भनेको घरबास हो । घरबासका लागि धेरै ठुलो रकम चाहिन्छ । त्यो रकम प्रदेश र सङ्घीय सरकारलाई माग गरेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्द्रबहादुर मल्लले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले साउन २९ गते नै विच्छ्या र ३० गते कवाडीका बाढीपहिरो पीडितलाई चामल नुन तेल त्रिपाल वितरण गरेको हो ।” दुई चार परिवार भए त केही गर्न सहज हुन्थ्यो । यहाँ पूरै गाउँ नै विस्थापित भएका छन् । हामीसँग ठुलो रकम नभएकाले यहाँका बाढी पहिरोपीडितलाई घरबासको व्यवस्था गर्न समस्या भएको मल्लले बताउनुभयो । बाजुरामा अहिलेमा नभई पहिलाका पनि धेरै घर परिवारहरु विस्थापित भएका छन् । केहीलाई घरबासको व्यवस्था भयो भने अन्य परिवारलाई भने अँझै केही गर्न सकेको छैन ।
ती परिवारलाई धरबासको व्यवस्था गर्नका लागि हामीले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसालेर यहाँका गृहमन्त्रालयमा पत्रचार गरेको प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलले बताउनुभयो ।


