धनगढी: सामाजिक सेवा, नेतृत्व विकास र व्यक्तित्व उत्थानमा निरन्तर सक्रिय संस्था धनगढी जेसिजले आफ्नो वार्षिक जेसिज सप्ताह–२०२५ सुरु गरेको छ। आजदेखि सुरु भएको सप्ताहको पहिलो दिन मोहना नदी किनारमा आयोजित छठ पर्वमा सहभागी श्रद्धालु भक्तजनहरूलाई निशुल्क पानी वितरण कार्यक्रम गर्दै सप्ताहको औपचारिक शुभारम्भ गरिएको हो। पहिलो दिनको कार्यक्रमका संयोजक महेश्वर ओझाका अनुसार छठ पर्वमा दर्शन र पूजा गर्न आएका सयौं श्रद्धालु भक्तजनहरूलाई धनगढी जेसिजका सदस्यहरूले पानी वितरण गरेका थिए। उक्त कार्यक्रमले धार्मिक अवसरमा सामाजिक उत्तरदायित्व वहन गर्ने सन्देश दिएको उनले बताए। कार्यक्रमको सञ्चालन धनगढी जेसिज २०२५ का महासचिव आशिष शाहले गरेका थिए ।
धनगढी जेसिज २०२५ का अध्यक्ष जेसिआई सिनेटर लोकराज भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धनगढी उपमहानगरपालिका वडा नं. २ का अध्यक्ष धर्मराज ओझा प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा धनगढी जेसिजका पूर्व अध्यक्ष तथा पूर्व राष्ट्रिय कोषाध्यक्ष जेसि कमलराज पनेरु, महेन्द्रनगर, टीकापुर, जोशिपुर र जानकी जेसिजका शाखा अध्यक्षहरू, जुनियर जेसिजका सदस्य तथा पदाधिकारीहरू, धनगढी जेसिजका बोर्ड सदस्यहरू, साथै छठ पूजा समिति धनगढीका अध्यक्ष सन्तोष मण्डल लगायतको उल्लेखनीय उपस्थिति थियो।
जेसिज सप्ताहको क्रममा विभिन्न सामाजिक, सांस्कृतिक र व्यक्तित्व विकासमुखी कार्यक्रमहरू सञ्चालन गरिने भएको छ। जेसिज सप्ताह मुल समारोह समितिका सयोंजक सन्तोस पन्तका अनुसार सप्ताहका कार्यक्रमहरू यस प्रकार छन्–
कात्तिक ११ गते: दृष्टि फाउण्डेशनमा खाद्यान्न वितरण
कात्तिक १२ गते: सौराई होटलमा टग अफ वार (रस्साकस्सी) प्रतियोगिता
कात्तिक १३ गते: जेसिज सचिवालयमा वक्तृत्वकला प्रतियोगिता
कात्तिक १४ गते: निशुल्क बाल स्वास्थ्य शिविर
कात्तिक १५ गते: फुटसल प्रतियोगिता
कात्तिक १६ गते: प्रकरण गोष्ठी, पुरस्कार वितरण तथा समापन समारोह
अध्यक्ष जेसिआई सिनेटर लोकराज भट्टले धनगढी जेसिजले विगतदेखि नै विभिन्न माध्यममार्फत युवा नेतृत्व विकास, सामाजिक सेवा र समुदायका कार्यक्रम सञ्चालन गर्दै आएको बताउँदै, “जेसिज सप्ताहले सदस्यहरूमा सेवा भावना र समाजप्रतिको उत्तरदायित्व अझ प्रगाढ बनाउने विश्वास लिएका छौं,” भने। धनगढी जेसिजले वर्षभरि विभिन्न सामाजिक कार्यक्रम, प्रशिक्षण र जनसेवामूलक गतिविधिहरू गर्दै आएको छ। यस वर्षको जेसिज सप्ताह पनि त्यसैको निरन्तरता स्वरूप सुरु गरिएको हो।

