धनगढी: भरखरै सम्पन्न निर्वाचनबाट चयन भएका कैलाली उद्योग वाणिज्य संघका पदाधिकारी तथा सदस्यहरूलाई कैलालीका विभिन्न वस्तुगत संघहरूले संयुक्त रूपमा स्वागत तथा सम्मान गरेका छन्। धनगढीस्थित सौराई होटलमा आइतबार एक कार्यक्रमको आयोजना गरी नवनिर्वाचित कार्यसमितिप्रति बधाई तथा शुभकामना व्यक्त गरिएको हो। कार्यक्रम होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा कैलाली उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष पुस्कर राज ओझा सहित सम्पूर्ण कार्यसमिति सदस्यहरूलाई माला, दोसल्लाका साथ सम्मान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओझाले व्यवसायीहरूको माया र विश्वासका कारण आफूहरू यो स्थानमा पुगेको बताउँदै धन्यवाद ज्ञापन गरे। उनले व्यवसायीहरूको हकहितका लागि संघ सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे। “हामी सबै व्यवसायीको साझा मञ्चका रूपमा संघलाई अझ सशक्त र प्रभावकारी बनाउने लक्ष्यका साथ अघि बढ्नेछौं,” अध्यक्ष ओझाले भने। उनले सबै पक्षको सुझाव र सल्लाह अनुसार काम गर्ने प्रतिबद्धतासमेत जनाए।

कार्यक्रममा कैलाली वितरक संघका अध्यक्ष सिद्धराज पनेरुले स्वागत मन्तव्य राख्दै नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना दिएका थिए। उनले व्यवसायी समुदायका समस्या समाधान र उद्योग वाणिज्य क्षेत्रको विकासका लागि सबै वस्तुगत संघहरूबीच सहकार्य आवश्यक रहेको धारणा राखे। उक्त कार्यक्रममा विभिन्न वस्तुगत संघका प्रतिनिधि, व्यवसायी, उद्योगी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले नयाँ कार्यसमितिलाई व्यवसायी समुदायको हितमा प्रभावकारी ढंगले कार्य गर्न सुझाव र शुभकामना दिएका थिए।

