धनगढी: कैलालीको धनगढीमा सूर्य उपासना तथा लोकआस्थाको पर्व छठ धुमधामका साथ मनाइएको छ। धनगढीको सीमा भएर बग्ने मोहना नदीको तट आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै श्रद्धापूर्वक सम्पन्न भएको हो। गत शनिबार ‘नहाय–खाय’ विधिबाट सुरु भएको यो पर्व भोली बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत् समापन हुन्छ। यस वर्ष मोहना नदीको किनार झकिझकाउ देखिएको छ। छठ पूजा सेवा समिति धनगढीको आयोजनामा सयौं पूजा कक्ष (छठी घाट) निर्माण गरी पूजाको तयारी गरिएको थियो। करिब तीन सयभन्दा बढी पूजा कक्षहरू निर्माण गरिएका छन्।
समितिका अध्यक्ष सन्तोष मण्डलका अनुसार सुरुवाती वर्षहरूमा छठका बेला पूजास्थल सुनसान हुने गर्थ्यो, तर पछिल्ला वर्षमा ब्रतालुहरूको चहलपहल निकै बढेको छ। उनका अनुसार करिब साढे दुई दशकअघि पाँच वटा पालसहितको घर बनाएर छठ मनाउने चलन सुरु भएको थियो। अहिले भने हजारौँ श्रद्धालु मोहना किनारमा पुग्ने गरेका छन्। पूजास्थल वरपर रमाइलो मेलाको समेत आयोजना गरिएको छ, जसले वातावरणलाई झनै रंगीन बनाएको छ।
सुरुवाती समयमा छठ पर्व मिथिला समुदायमा मात्र सीमित रहेको भए पनि पछिल्ला वर्षहरूमा यस पर्वले सुदूरपश्चिमका अन्य समुदायहरूमा पनि स्थान पाएको छ। थारु, रानाथारु तथा पहाडी समुदायका व्यक्तिहरू पनि अहिले छठ पर्वमा सहभागिता जनाउने गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर २ का अध्यक्ष धर्मराज ओझाका अनुसार छठ मनाउनेको संख्या वर्षेनि बढ्दै गएको छ। उनले भने, “परिवार विस्तार, रोजगारी, व्यापार र बसाइसराइका कारण मिथिला समुदायका नागरिक धनगढीमा आउँदा यो पर्व यहाँ पनि फैलिएको हो। अहिले अन्य समुदायका नागरिक पनि श्रद्धापूर्वक सहभागी हुन्छन्।”
छठ पर्वको परम्पराअनुसार ब्रतालुले ४८ घण्टासम्म अन्न र पानी त्यागेर व्रत बस्ने गर्छन्। बाँसको ढाकी, माटोको कोसिया–कुरबार, ठकुवा, भुसुवा, केरा, उखु, अदुवा, हल्दी, मिठाई र फलफूल आदिलाई प्रसादका रूपमा सूर्यदेवलाई अर्पण गरिन्छ। अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिई अर्पण गरिएका यी सामग्रीलाई पछि प्रसादका रूपमा ग्रहण र वितरण गरिन्छ। पौराणिक ग्रन्थ महाभारतमा पनि सूर्य उपासना गरिएको उल्लेख पाइन्छ। द्रोपदी र पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको जनश्रुति छ। त्यही समयदेखि छठ पर्व मनाउने परम्परा सुरु भएको मानिन्छ।
अध्यक्ष सन्तोष मण्डलका अनुसार, “पहिले सात–आठ परिवारमात्र मोहना नदीमा पुग्थे, अहिले हजारौँ नागरिक सहभागी हुन्छन्। छठ पर्वले सामाजिक सद्भाव र आपसी एकतालाई झनै मजबुत बनाएको छ।” आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै आस्थाको यो महान् पर्व सफलतापूर्वक सम्पन्न भएको छ। श्रद्धा, निष्ठा र कठोर साधनाको प्रतीक यो पर्व सुदूरपश्चिममा पनि विस्तारै सामाजिक एकताको सेतुका रूपमा स्थापित हुँदै गएको छ।

