बझाङ — नेपाली सेनाका जवानसहितका स्थानीय युवाको कुटपिटबाट घाइते भएका युवकको मृत्यु भएको छ । स्थानीय युवकको समूहबाट कुटपिट भएका जयपृथ्वी नगरपालिका–५ का २० वर्षीय अभिशेष थापाको सोमबार मृत्यु भएको हो । आइतबार राति गत वर्ष गाउँमा भएको भलिबल प्रतियोगितामा भएको विवादको विषयलाई लिएर भएको भनाभनमा उनलाई कुटपिट गरिएको प्रहरीले जनाएको छ ।
घरबिदामा आएका सेनाको ईन्द्रध्वज गण सिन्धुपाल्चोकमा कार्यरत सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीले उनलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका अभिशेकको बझाङमा उपचार हुन नसके पछि धनगढी लगिएको थियो । धनगढीस्थित निर्सग अस्पतालले उनलाई सोमबार मृत घोषणा गरेको थियो । ‘गत वर्ष भलिबलमा भएको विवाद र अरु पुरानो रिसइबीका कारण कुटपिट भएको देखिन्छ,ु जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी खगेन्द्र धमलाले भने, ‘लठ्ठीले टाउकोमा प्रहार गर्दा मृतकलाई गम्भीर चोट लागेको रहेछ ।ु कुटपिट गर्ने तीनै जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।


