धनगढीः कैलालीको गोदावरी नगरपालिकाको अतरियामा चक्कु प्रहारबाट एक युवक घाइते भएका छन्। आइतवार राति गोदावरी नगरपालिका-४ मा रहेको शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराको नवदुर्गा गाउँपालिका-२ का ३२ वर्षीय गौरव ऐरमाथि चक्कु प्रहार भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहलका अनुसार गौरवले होटलमा खाना खाइरहेका बेला ४र५ जनाको समूहमा प्रवेश गरेको एक समूहले उनीमाथि चक्कु प्रहार गरेको बताए। कैलाली प्रहरी प्रवक्ता सिंहका अनुसार घाइते अवस्थाका ऐरलाई थप उपचारका लागि भारत पठाइएको छ। चक्कु प्रहार गर्नेहरूको पहिचान खुलिसकेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ।

