धनगढी: कैलालीको गोदावरी नगरपालिका–१० खमौराका ३५ वर्षीय शेरबहादुर चौधरीको मृत्युपछि २ जना समातिएका छन्। असोज २३ मा उनी घर नजिकै खोलामा मृत फेला परेका थिए। इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रणबहादुर चन्दका अनुसार राति २ बजे छिमेकी लोकेन्द्र मल्ल (लक्की) र उनका सहोदर भाइ डडेल्धुराको गन्यापधुराका विकास मल्लले घरको ढोकामा हान्दै चौधरीलाई मार्ने धम्की दिएका थिए। ढोका तोड्न थालेपछि शेरबहादुर पछाडिको ढोकाबाट भागेका थिए।
भागेका उनको शव भोलिपल्ट घर नजिकै ओलानी र गोदावरी नदी मिल्ने दोभानमा फेला परेको डिएसपी चन्दले जानकारी दिए। उनका अनुसार मृतकका भाइ रमेश चौधरीले घटनाको अघिल्लो रात मल्ल दाजुभाइसँगै खानपिन गरेका थिए। खानपिनपछि उनीहरू अत्तरियाको एक दोहोरीमा पुगेका थिए। त्यहाँ विवाद हुँदा रमेशलाई मल्ल दाजुभाइले कुटपिट गरेका थिए।
रमेशले घर फर्केर दाजु शेरबहादुरलाई घटना बताएपछि उनी छिमेकी नवराज भट्टसँगै दोहोरी पुगेका थिए। त्यहाँ उनले आफ्ना भाइलाई कुटेको भन्दै मल्ल दाजुभाइलाई केही मुक्का हानेका थिए।
त्यसपछि रिसाएका लोकेन्द्र र विकास राति शेरबहादुरको घरमै पुगेका थिए। लाठी बोकी ढोका फोड्ने क्रममा शेरबहादुर डरले घरको पछाडिबाट भागेका थिए। भागेपछि उनी बेपत्ता भएका थिए। मृतकका आफन्तले मल्ल दाजुभाइले लखेटी लखेटी हत्या गरी खोलामा फालेको दाबी गर्दै इलाका प्रहरी कार्यालय मालाखेतीमा किटानी जाहेरी दिएका छन्। उनीहरूले हत्या भएकोमा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन्।
डिएसपी चन्दका अनुसार धम्की र ढोका तोडफोडको घटनापछि प्रहरीले लोकेन्द्र र विकासलाई नियन्त्रणमा लिएको छ। शवको पोस्टमार्टम रिपोर्ट आएपछि घटनाको कारण स्पष्ट हुने प्रहरीले जनाएको छ।


