धनगढी: जेन–जी आन्दोलनका क्रममा नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० सभापति रवि लामिछानेलाई निकालिएको खबर पाएपछि सबैभन्दा पहिले कैलाली कारागार रित्तिएको थियो । २४ भदौमा कारगारमा रहेका ६६६ जना कैदीबन्दी भागेपछि सुदूरपश्चिमका अन्य पाँच कारागार र एक बाल सुधारगृहबाट १ हजार ४५८ बन्दी फरार भए । फरार कैदीबन्दीलाई पक्राउ गर्न प्रहरीले टोली परिचालन गर्यो भने आफैँ सम्पर्कमा आउन सार्वजनिक सूचना पनि जारी गरियो । तर, सुदूरपश्चिमका कारागारबाट भागेको एक महिनासम्म पनि ४०० कैदीबन्दी भने फरार सूचीमै छन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतम मिश्रले सुदूरपश्चिम प्रदेशबाट भागेका १ हजार ४५८ जना कैदीबन्दीमध्ये १ हजार २६ जना मात्रै कारागार फर्किएको जानकारी दिए । ‘केहीलाई पक्राउ गरिएको हो भने केही आफैँ कारागारमा फर्किएका हुन्,’ एसपी मिश्रले भने । उनका अनुसार अझै ४३२ जना कैदीबन्दी फरार छन् । फरारमध्ये १९ जना कैदीबन्दी भारतीय रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । आन्दोलनका बेला कैलाली, कञ्चनपुर, डडेल्धुरा, दार्चुला, बझाङ र बैतडी कारागार तथा बाल सुधारगृह डोटीबाट बन्दी भागेका थिए । एसपी मिश्रका अनुसार कैलालीबाट भागेका २८८, कञ्चनपुरका १०५, बझाङका १२, दार्चुलाका ६, डडेल्धुराका ५ र बैतडीका १ तथा डोटी सुधारगृहबाट भागेका १५ जना अझै फरार रहेका छन् । फरार रहेका कतिपय कैदीबन्दी भारत गएको हुनसक्ने सुरक्षा अधिकारीहरूले बताएका छन् ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गौतमले फरार भएका कैदीबन्दीबाट हुनसक्ने आपराधिक घटना र सुरक्षा चुनौतीको आकलन गरेर सुरक्षा सतर्कता अपनाइएको बताए । ‘फरार कैदीबन्दी पक्राउ गर्न टोली नै परिचालन भएको छ,’ एसपी मिश्रले भने । सरकारले फरार भएका कैदीबन्दीलाई पछिल्लो समय २० असोजसम्म कारागार फर्किसक्न भनेको थियो । फरार कैदीबन्दीविरुद्ध अहिले नै कारबाहीको चरण सुरु नभएको एसपी मिश्रले बताए ।


