धनगढी: कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ। अहिलेसम्म प्राप्त मत परिणाम अनुसार अध्यक्ष पदमा पुष्करराज ओझाले निरन्तर अग्रता कायम राखेका छन्। निर्वाचन समितिका अनुसार हालसम्म १,७०० मत गणना भइसकेको छ। त्यसमा अध्यक्ष पदका उम्मेदवार पुष्करराज ओझाले ८३८ मत प्राप्त गर्दै अग्रता कायम राखेका छन् भने उनका प्रतिस्पर्धी रुपेश स्वाँरले ७७२ मत पाएका छन्। वरिष्ठ उपाध्यक्षमा केशव जोशीले ८३७ मत प्राप्त गर्दै अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी ओम बिष्टले ४८४ मत र सुरेन्द्र राठीले २३६ मत पाएका छन्।
उद्योग उपाध्यक्षमा लक्ष्मण पन्तले ८५९ मत ल्याएर अगाडि छन् भने उनका प्रतिद्वन्द्वी बासुदेव भट्टले ६४० मत पाएका छन्। एशोसिएट उपाध्यक्ष पदमा प्रतिस्पर्धा त्रिकोणात्मक बनेको छ। यस पदमा मनोज अग्रवालले ५१८ मत, कबिन्द्र पन्तले ४९१ मत, र अनिल कुमार भुजानियाले ४६७ मत पाएका छन्। बाणिज्य उपाध्यक्षमा गगन केसीले ८८१ मत ल्याउँदै अग्रता बनाएका छन् भने राधिका चौधरीले ६२९ मत पाएकी छन्।
बस्तुगत उपाध्यक्ष पदमा भिमराज ओझा ९अब्बु० ले ८१२ मत ल्याएर अगाडि रहेका छन् भने सिद्धराज पनेरुले ७०५ मत पाएका छन्। महासचिव पदमा दिनेश लम्सालले ७९८ मत ल्याएर अग्रता बनाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी शुरेस पाण्डेयले ७३३ मत पाएका छन्। कोषाध्यक्षमा तिलक बोहराले ९७१ मत ल्याउँदै फराकिलो अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी सुरेन्द्र कठायतले ५२४ मत पाएका छन्।
सचिव पदमा प्रकाश कुमार चन्दले ८०२ मत ल्याएर अग्रता बनाएका छन्। त्यस्तै कृष्णा बिष्टले ४६८ मत र कोपिला कुँवरले २७७ मत पाएका छन्। निर्वाचन समितिका अनुसार संघको नयाँ कार्यसमिति चयनका लागि ९ पदाधिकारी र १३ सदस्य गरी २२ पदमा प्रतिस्पर्धा भइरहेको छ। यी पदहरूका लागि ५० जना उम्मेदवारले उम्मेदवारी दिएका थिए। कुल २,३३५ मतदाता मध्ये १,९४० मत खसेका छन्। मतगणना अझै जारी रहेको समितिले जनाएको छ। अन्तिम परिणाम आजनै सार्वजनिक हुने अपेक्षा गरिएको छ।



