बैतडी — पटकपटक माग गरेको सूचना उपलब्ध नगराएको भन्दै बैतडीको सुर्नया गाउँपालिकामा युवाहरुले तालाबन्दी गरेका छन् । गाउँपालिकाले सञ्चालन गरेका विभिन्न कार्यक्रम र बजेटसम्बन्धी सूचना माग गर्दा नदिएको स्थानीय युवा विशाल भट्टले बताए । महालेखाको प्रतिवेदनमा आएको २१ करोड बेरुजु फर्छ्यौट गर्नुपर्ने, वडा नम्बर ४ को एक शौचालयमा कर्मागत बजेट गए पनि सम्पन्न नहुनुका कारण, कार्यापालिकाको निर्णयको प्रतिलिपि माग लगायतका विषयमा पटक पटक सूचना माग गर्दा नदिएपछि ताला लगाउन बाध्य भएको उनले बताए ।
युवाहरुले माग गरेका सूचना दिन गाउँपालिका तयार रहेको गाउँपालिका अध्यक्ष अमर कुवरले बताए । ‘युवाहरुका माग जायज छन्,’ उनले भने, ‘हामी गम्भीरताका साथ उनीहरुका मागलाई सम्बोधन गर्छौं र माग गरेका सूचना उपलब्ध गराउँछौं ।’ माग गरेका सूचना विविध कारणले दिन ढिलाइ भएको गाउँपालिका सूचना अधिकारी रामसिंह महराले बताए । ‘माग गरेका केही कर्मचारी र जनप्रतिनिधिका भत्ता लगायतका खर्च विवरणहरु लेखापाल र कार्यालय प्रमुख नहुँदा तयार गर्न समय लागेको हो,’ उनले भने, ‘अरु सूचना हामीले तयार गरेका छौं र बाँकी सूचनासमेत कार्यलय प्रमुख र लेखापाल आउनेबित्तिकै दिन्छौं ।’
युवाहरुले भने आफूहरुले माग गरेका भन्दा फरक सूचना उपलब्ध गराएकाले माग गरे अनुसारका सूचना उपलव्ध नगराएसम्म ताला नखोल्ने बताएका छन् । गाउँपालिकाको बजेट विनियोजन, मसलन्द खर्च, कर्मचारी तथा जनप्रतिनिधिको भत्ता, इन्धन खर्च, घरभाडा, कार्यापालिकाको निर्णय लगायतका बारेमा उनीहरुले सूचना माग गरेका छन् ।


