कञ्चनपुर: बेदकोट नगरपालिकाले छाडा पशुचौपाया व्यवस्थापनका लागि बर्सेनि करोडौँ रुपियाँ खर्च गरे पनि समस्या ज्यूँका त्यूँ छ । आर्थिक वर्ष २०८०/८१ मा मात्र नगरपालिकाले चौपाया हेरालाको ज्याला, घाँस–दाना र गोठ निर्माणमा झन्डै एक करोड रुपैयाँ खर्च गरेको हो । तर पनि लालपुर, सुडा, दैजीलगायत क्षेत्रका सडक र खेतबारीमा चौपायाको आतंक कायमै छ । छाडा चौपायाले सडक दुर्घटना बढाएको र किसानलाई समेत नोक्सान पुर्याएको स्थानीयको गुनासो छ ।
ट्राफिक प्रहरीका अनुसार पछिल्लो सात दिनमै चौपाया कारण २० सवारी दुर्घटनामा परेका छन् । नगरपालिकाले चौपाया व्यवस्थापनका लागि १२ बिघा जमिनमा गोठ निर्माण गरे पनि घरपालुवा जनावर छोड्ने प्रवृत्तिले समस्या समाधान हुन नसकेको जनाएको छ । स्थानीयले बेदकोट र भीमदत्त नगरपालिकाले संयुक्त रूपमा व्यवस्थापन गर्नुपर्ने माग गरेका छन् ।

