बैतडी —नुनदेखि सुनसम्म र सियोदेखि सब्बल (ढुंगा फुटाउन फलामबाट बनेको औजार) सम्म पाइने बजारहरु अचेल सुनसान बन्दै गएका छन् । ग्रामीण भेगसम्म सडक सञ्जाल जोडिएपछि पुराना बजार सुनसान बनेका छन् भने सडक किनारमा नयाँ बजार खुलेका भएका छन् ।
एक दशक अगाडिसम्म बिहान ४ बजेदेखि अबेर रातिसम्म चहलपहल हुने यी बजार अहिले सुनसान देखिन्छन् । ग्राहक घटेपछि व्यापारी विस्थापित भएका छन् । बाटोघाटो समस्या रहेको बैतडीमा संघीयतापछि गाउँगाउँ जोड्ने सडकमा जोड दिइयो । स्थानीय तहहरुले अरु विकास भन्दा सडकलाई नै प्राथमिकता दिए । अहिले जिल्लाका ८४ मध्ये सबै वडामा सडकको पहुँच पुगिसकेको स्थानीय तहहरुले जनाएका छन् । सडकले सबै ठाउँ जोड्दा जिल्लाका मुख्य र पुराना बजार अहिले सुनसान बनेका छन् । जिल्लाका मुख्य बजार, गढी, गोठलापानी, शाहिलेक, देहिमाण्डौं, सतबाँज, ढोल्यामोड, खनारी, दुर्गास्थानलगायत भारतीय सीमा नाकामा रहेको जुलाघाट बजार अहिले सुनसान बनेका छन् ।
यी बजारमा स्थानीयबाहेक बाहिरका कोही व्यापारी बस्दैनन् । बजारका सबैजसो सटर बन्द हुन्छन् । स्थानीयले आफ्नै घर भएकाले सामान्य सरसामान र खाजा पसल संचालन गरेका छन् । धेरैजसो स्थानीय त पसलमात्रै हैन घर नै छोडेर तराई बसाइ सरेका छन् ।
दशरथचन्द नगरपालिका २ देहीमाण्डौंमा पुरानो घरको पहिलो तलाको बरान्डामा माटोको सानो चुलोमा पुरानो कित्ली (चियादानी) राखिएको थियो । छेउमा काठको सानो स्टुलमा ६६ वर्षका भानबहादुर बोहरा बसेका थिए । चुलोबाट निस्किरहेको कालो धुवाँसँगै बोहराको मनमा पुराना दिनका याद उडिरहेका थिए । पाँच दशक पुरानो उनको पसलमा केही वर्षअघिसम्म पनि ग्राहकको भीड हुन्थ्यो । अचेल उनी आफ्ना लागि चिया पकाउन मात्रै आगो बाल्ने गर्छन् । ‘ग्राहक नै नआएपछि सामान के राख्ने सामान्य चिया, नास्ता र हल्का सामान मात्रै राखेको छु,’ उनले भने ।
तल्लो स्वराड क्षेत्र भनेर चिनिने हालको मेलौली नगरपालिका, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका बासिन्दाको किनमेल गर्ने थलो देहीमाण्डौं, दुर्गास्थान र खनारी बजार हो । यी तीन पालिकाका साविकका करिब १५ गाविसका बासिन्दा १० वर्षअघिसम्म पनि किनमेलका लागि आउने गर्थे । अहिले यी बजारमा न स्वराड क्षेत्रका व्यापारी आउँछन् न कोही उपभोक्ता नै । उतिबेला यी बजारका व्यापारीलाई उपभोक्तालाई सामान दिन भ्याइनभ्याइ हुने गर्दथ्यो ।
सडक सञ्जाल बिस्तार भएपछि देहीमाण्डौं बजार सुनसान बनेको व्यापारी बोहराले बताए । यी बजारबाट स्वराड क्षेत्रमा स्थानीय व्यापारीको लागि सामान घोडा खच्चरमा जाने गर्थ्यो । घरायसी प्रयोगका लागि ग्राहक आफै बोकेर लग्ने गर्थे । बास बस्नेदेखि खाना, नास्ताको होटल चलाइका उनले अहिले समान्य चिया पसल संचालन गरेका छन् । आफ्नै घर भएकाले भाडा नतिर्नु पर्ने हुँदा पसल संचालन गरेको उनले बताए । ‘भाडा तिरेर बसेका सबै व्यापारी छोडेर अन्त ठाउँ गइसके,’ उनले भने, ‘अहिले सबै सटर बन्द छन्, जो खुला छन तिनका आफ्नै घर हुन् ।’
बिहान ४ बजेदेख राति १२ बजेसम्म होटल र पसलको काममा व्यस्त हुँदा पाकेको खाना खाने समयसम्म नपाउने उनी आजभोलि सधैं फुर्सदमा हुन्छन् । ‘यहीँ चुलोमा ३८ वर्षसम्म खाना पकाएर हजारौं जनालाई खुआए,’ उनले भने ‘चुलोमा आगो निभाइदैन्थ्यो । समयको माग हो अहिले आफूलाई चिया पकाउन मात्रै चुलो बाल्नुपरेको छ ।’ आफ्नो उमेर समूहका बुढापाखा चिया पिउन आए गफ गरेर दिन बिताउने गरेको उनले बताए । बन्द गरेको पुरानो सटर देखाउँदै उनले भने, ‘उ ती दुई सटरमा देवसिंह भाटजीले भाडामा लिएर व्यापार गरेका थिए । १९/२० वर्ष व्यापार गरेका स्वराडतिर सडक गएपछि छाडेर गएका हुन् । अहिले त कहाँ छन् थाहा छैन् ।’
पाटन पञ्चेश्वर सडक संचालनमा आएदेखि यो बजार सुनसान भएको देहीमाण्डौंका पुराना व्यापारी तथा दशरथचन्द नगरपालिका २ का वडाध्यक्ष सूर्य बोहराले बताए । दशक अघिसम्म पैदल बातटोमा भरिया र घोडा खच्चरले समान्य मान्छेलाई आवतजावत गर्नै मिल्दैन्थ्यो । अध्यक्ष बोहराका अनुसार समयसँगै ब्यापारी पनि बदलिएका छन् । सडक विस्तारसँगै घोडा, खच्चर चलाउनेले अहिले ट्रक, जीप चलाइरहेका छन् । स्वराडका व्यापारीका लागि देहीमाण्डौं र खनारी बजारबाट घोडा खच्चरमा सामान बोक्नेहरु अहिले तराइबाट (धनगढी) ट्रकमा सामान ल्याएर बेचिरहेका छन् ।कान्तिपुरबाट


