धनगढी: भोलिपल्ट दसैँ थियो । परिवारका साथ दसैँ मान्नका लागि घर फर्किनेको घुइँचो थियो । कोही परदेश (भारत) बाट फर्किएका थिए भने कोही पश्चिम सुदूरका तराईका जिल्लाबाट पहाड जाने तयारीमा थिए । तिनै यात्री बोकेर कैलालीको अत्तरियाबाट अछामका लागि छुट्यो रात्रिबस । यात्रुले खचाखच भरिएको बसमा पोका पन्तुराको चाप पनि उत्तिकै थियो ।
त्यो सयममा भीमदत्त राजमार्ग पूर्ण रूपमा कालोपत्रे भइसकेको थिएन । तराईका सम्म मैदानहरू ढल्किँदै गोदावरीको उकालो बाटो डडेल्धुराको स्याउँलेमा पुग्यो त्यो बस । स्याउले बजार पुग्दा झमक्क रात परिसकेको थियो । डडेल्धुरा, बैतडी, बझाङ र दार्चुला जाने यात्रु स्याउलेमै झरे । बसमा बाँकी थिए, डोटी र अछाम जाने यात्रु । डोटी पुग्न अझै ५५ किलोमिटर यात्रा गर्नु थियो । बसका यात्रुबीच स्याउलेमा मतभेद हुन थाल्यो । केहीले राति स्याउलेमै बस्ने भने त केहीले भोलिपल्ट दसैँ भएकाले यात्रा रोक्न नहुने बताए । बस चालकले बस्नै परे डोटीको दीपायल बसौँला भन्दै डोटी र अछामका यात्री बोकेर स्याउलेबाट ओरोलो लगाए बस ।
बाटोभरि यात्रु र चालकबीच मनमुटाव हुँदै गयो । अन्ततः रातको ९ बजेको समयमा बस दीपायल हुँदै सेतीको पुलमा पुग्यो । चालकले सेतीको छालमा बस र यात्रुलाई विलीन बनाइदिए । आफू फरार भए । २०५२ सालको त्यो सेती बस दुर्घटनामा धेरैले अभिभावक गुमाए, धेरैको सिउँदो पुछियो त केही टुहुरा भए । दसैँको अघिल्लो दिन भएको त्यो घटना अझै धेरैको स्मरणमा छ ।
बस दुर्घटना हुँदा साहित्यकार निर्मलकुमार भण्डारी डोटीको जोरायलमा थिए । बस चालक जोरायलकै शाहु थरका व्यक्ति थिए । उनले सेती बस घटनामा आधारित भएर रेडियो नेपालको ‘डेउडा गीतको सेरोफेरो’ कार्यक्रममा गीत लेखेर पठाए । ‘रेडियोलाई पत्रमार्फत पठाएको त्यो गीत केही समयपछि रेकर्डिङ भएर क्यासेटमा आयो,’ भण्डारी सम्झिन्छन् । भण्डारीका अनुसार यात्रुसँगको मनमुटावका कारण आवेगमा आएर चालकले बस सेती नदीमा फालेका थिए । यकिन विवरण जानकारी नभए पनि उक्त घटनामा दुई दर्जन बढीको ज्यान गएको थियो ।
तीन दशक पुरानो सेती बस घटनामा आधारित ‘भोलि छ दसैँको दिन काटु कटालैको सेरो’ गीत अहिले पनि उत्तिकै चर्चामा छ । दसैँ आउँदा त्यो बेलाको कारुणिक क्षणलाई सुदूरपश्चिमवासीले सोही गीतमार्फत सम्झिँदै आएका छन् । गीतमा गायक भोजराज भट्ट, मीना प्रसाईं र सविता भट्टको स्वर छ । गायक भट्ट उक्त गीत सत्य घटनामा आधारित मात्र नभएर सत्य घटना नै भएको बताउँछन् । ‘मैले धेरै गीत गाए तर जब म त्यो गीत गाउँदाको क्षण बेग्लै थियो,’ उनी भन्छन् ।

