बैतडी — दसैंको चहलपहलसँगै गाउँ फर्किनेको पनि गाउँघरतिर निकै चहलपहल बढेको छ । केही दिन पहिला परेको अविरल वर्षाले जिल्लाका मुख्य सडकबाहेकका ग्रामीण सडक पहिरोले बन्द छन् । केही ग्रामीण सडक सञ्चालनमा भए पनि खाल्डाखुल्डी र हिल्लामे भई जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्था छ । ग्रामीण सडक वर्षापछि सफा नगरिएकाले दसैंमा घर फर्किनेहरूले सास्ती खेप्नु परेको छ । सञ्चालनमा रहेका ग्रामीण सडकमा पनि पानीले कतै खाल्डाखुल्डी त कतै हिल्लामे बनाएको छ । जिल्लाका सबै ठाउँका ग्रामीण सडकको अवस्था उस्तै रहेको छ ।
ग्रामीण सडक सञ्चालनमा नआउँदा गाउँ फर्किनेहरूलाई सास्तीसँगै गाउँघरतिर खाद्यान्नसमेत अभाव हुन थालेको छ । गाउँतिर आउने सडकमा गएको ठूलो पहिरोले अहिले सडक पूर्ण रूपमा बन्द रहेको दोगडाकेदार गाउँपालिकाका स्थानीय मानबहादुर भाटले बताए । सिल्लेगडादेखि बडिया कफलानी जाने सडक बन्द हुँदा मुख्य सडक छेउबाट दुई तीन घण्टा हिँडेर खाद्यान्न बोक्नु परेको उनले बताए । ‘सडक बन्दले गाडी नचल्दा गाउँघरका पसलमा खाद्यान्न सकिएको छ,’ उनले भने, ‘तराईतिरबाट खाद्यान्न मगाएर मेन सडकबाट बोक्नु परेको छ ।’
सडक बन्दले गर्दा सामान ल्याउन नसकेको स्थानीय व्यापारी केशव चन्दले बताए । उनले भने, ‘सडक सञ्चालनमा नआएसम्म सामान मगाएर ल्याउन सकिने अवस्था छैन ।’ गाउँघरमा विकासको उत्साह बोकेर घर फर्किने नागरिक सामान्य सडकसमेत सफा नभएको देख्दा निरुत्साहित बनेका छन् । ‘गाउँमा सडक पुग्दा खुसी लागेको तर सडकको यस्तो अवस्था देख्दा दुःख लागेको दशरथचन्द नगरपालिका ७ का स्थानीय जनक बोहराले बताए । ‘गाडीमा त बसेको छु सडकको यस्तो आवस्थाले मनमा साह्रै डर लागिरहेछ,’ उनले भने, ‘पूरै सडक हिल्लामे र खाल्डाखुल्डी परेको छ ।’
दसैंका लागि भारतबाट घरगाउँ फर्किएका महेश साउदको दुस्खेसो पनि उस्तै छ । ‘गाउँमा सडक त पुगेछ । तर वर्षाले सडकको अवस्था खराब गरेको रहेछ,’ उनले भने, ‘गाउँमा गाडी चढेर पुग्ने हामी प्रवासीको सपना कहिलै पूरा हुँदैन जस्तो लाग्छ ।’ सडकमा गएको सानो पहिरो नपन्छ्याउँदा खाल्डाखुल्डी नपुरिदिँदा गाडी चलाउन समस्या भएको जीपचालक पारस मंगोलाले बताए । उनले भने ‘जीपको किस्ता तिर्न जीप नचलाई नहुने हुँदा ग्रामीण सडकमा जोखिम मोलेरै भए पनि चलाइरहेको छु ।’
(सम्बन्धित निकाय र स्थानीय तहलाई पटक(पटक सडक सफाइका लागि आग्रह गर्दा पनि कसैले नसुनेको दोगडाकेदारका स्थानीय भाटको गुनासो छ । स्थानीय तहहरूले भने आफ्नो क्षेत्रभित्रका ग्रामीण सडक सफाइको कामलाई तीव्रता दिएको दाबी गर्छन् । पञ्चेश्वर गाउँपालिकाले सडक सफाइका लागि कोटेसन आह्वान गरेको छ भने अरु स्थानीय तहले आफ्नै एक्स्काभेटर प्रयोग गरेर सडक सफा गरिरहेको बताएका छन् । ‘गाउँपालिकाकै मेसिन प्रयोग गरि सडक सफा गरिरहेका छौँ,’ सिगास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले भने, ‘एउटै मेसिनले ढिलो हुने भए कोटेसनमार्फत भए पनि तिहारसम्म सबै सडक सञ्चालन हुन्छन् ।’
आधाभन्दा बाकी सडक सफा गरिसकेको र बाँकी सडक सफाइको काम चलिरहेको शिवनाथा गाउँपालिका अध्यक्ष कर्णसिंह साउदले बताए ।


