कैलाली । धनगढीमा रोकिएको ट्रकसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ करिब सात बजेतिर धनगढी उपमहानगरपालिका–७ जेपी चौकमा दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ०१–००१ क १६९० नम्बरको ट्रकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको से ५ प ३४१४ नम्बरको मोटरसाइकल ट्रकको पछाडिको भागमा ठोक्कियो।
मोटरसाइकलमा सवार धनगढी उपमहानगरपालिका१२ का १९ वर्षका गणेश कुँवर र १८ वर्षका अनिस सिंह घाइते भएका थिए। घाइते भएका उनीहरूलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा लगिएकोमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए।

