गौरीगंगाः चौमाला स्पोट्स क्लबको आयोजनामा “खेल विकासको आधार, खेल प्रशिक्षण हाम्रो अधिकार“ भन्ने मूल नारासहित चौमाला सेभेन एु-साइड फुटबल प्रतियोगिता सुरु भएको छ। गौरीगंगा नगरपालिका–२ का वडा अध्यक्ष जनक साँउदले हिजो खेलको उद्घाटन गरेका थिए। उनले यस्ता प्रतियोगिताले समुदायलाई एकजुट बनाउने र खेलकुदले आपसी सम्बन्ध सुधार गर्नुका साथै शारीरिक रूपमा पनि लाभ पुग्ने बताए।
उनले आफूपनि खेल प्रवद्र्धनका लागि वडाबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रतियोतियोगिताको उद्घाटन खेलमा राइजिङ पावर युथ क्लब र सनसाइन युथ क्लबबीच प्रतिस्पर्धा भएको थियो। सो खेलमा सनसाइन युथ क्लबले २–० को जित हासिल गरेको छ। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सनसाइनका शिशिर केसी ’म्यान अफ द म्याच’ घोषित भएका थिए।
आयोजक क्लबका सचिव नवीन चन्दका अनुसार प्रतियोगिता अन्तर्गत आइतबार दिउँसो २ः३० बजे बेताल युवा क्लब र चरिडाँडा क्लबबीच, ३ः३० बजे पटेला स्मार्ट क्लब र भिपेरा क्लबबीच तथा ४ः३० बजे चौमाला स्पोट्र्स क्लब सेतो र बेलि युवा क्लबबीच प्रतिस्पर्धा हुने तालिका रहेको छ। प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको छ भने विजेता टिमलाई नगद २५ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। त्यस्तै उपविजेताले नगद १० हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
साथै प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडीहरूलाई विभिन्न विधामा पुरस्कार पनि प्रदान गरिने सचिव चन्दले जानकारी दिए। चौमाला खेलमैदानमा जारी प्रतियोगिता असोज १३ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष रमेश सिगालले जानकारी दिए।


