धनगढी । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा सिद्धार्थ हस्पिटालिटि समूहले आफ्नो सेवा विस्तार गर्दै भव्य आतिथ्य संरचना सञ्चालनमा ल्याएको छ। घटस्थापनाको दिनदेखि औपचारिक रूपमा सेवा प्रारम्भ गरिएको समूहले जनाएको छ। करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको यस संरचनामा एकैपटक २ हजार ५०० जनासम्मलाई सेवा दिन सक्ने क्षमता रहेको छ। यसभित्र लक्सरी होटल र रेष्टुरेन्ट, स्वीमिङ पूल, वाटर फन पार्क, बैंक्वेट हल, क्याफे, सम्मेलन हल तथा विभिन्न आधुनिक मनोरञ्जनात्मक सुविधा उपलब्ध हुनेछन्। यस किसिमको सम्पूर्ण सेवासहितको आतिथ्य संरचना धनगढीमा पहिलोपटक सुरु गरिएको समूहले दाबी गरेको छ।
समूहका क्षेत्रीय कार्यकारी निर्देशक केशव न्यौपानेका अनुसार, “सुदूरपश्चिम प्रदेशमा पर्यटन र आतिथ्य व्यवसायलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यले धनगढीमा यो परियोजना ल्याइएको हो। यो संरचना केवल होटल वा रेष्टुरेन्ट मात्र नभई स्थानीय तथा बाह्य पर्यटकलाई समेट्ने बहुआयामिक मनोरञ्जन केन्द्र बन्नेछ।” सन् २०५४ सालदेखि आतिथ्य व्यवसायमा क्रियाशील सिद्धार्थ समूहले यसअघि बुटवल, पोखरा, चितवन लगायतका प्रमुख शहरमा होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्दै आएको छ। समूहले आफ्नो अनुभव र गुणस्तरीय सेवाको निरन्तरतामार्फत धनगढीमा पनि उच्चस्तरीय आतिथ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।
धनगढीको चौराहाबाट सेवा प्रारम्भ गरिएको यस संरचनाले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ। विशेषगरी सुदूरपश्चिम प्रदेशमा बढ्दो आन्तरिक पर्यटक चहलपहललाई ध्यानमा राख्दै निर्माण गरिएको यो परियोजनाले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक योगदान गर्ने देखिएको छ। स्थानीय व्यवसायी, पर्यटक तथा सरोकारवालाले यसलाई धनगढी र सुदूरपश्चिमकै लागि महत्वपूर्ण उपलब्धि मानिरहेका छन्। उनीहरूको भनाइमा, यस किसिमको आधुनिक आतिथ्य संरचना प्रदेशमा पर्यटन पूर्वाधार विकासको अभावलाई केही हदसम्म पुरा गर्नेछ।


