कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–११ गड्डाचौकीस्थित राना परिवारमा एकै दिन बुवा र छोराको निधन भएपछि गाउँ शोकमग्न बनेको छ। स्थानीय जलशा होटलका सञ्चालक तथा मिलनसार व्यक्तित्वका रूपमा परिचित ५५ वर्षीय दान बहादुर राना (डल्ले दाई) र उनका छोरा बिक्की रानाको असोज ३ गते एकै दिन निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
बिक्की केही समयदेखि बिरामी परेपछि उनलाई उपचारका लागि भारतको बरेली लगिएको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनले प्राण गुमाएका हुन्। सोही दिन साँझ, धनगढीस्थित अस्पतालमा उपचाररत उनका बुबा दान बहादुर रानाको पनि निधन भएको हो। बुबा–छोराको निरन्तर योगदानले जलशा होटललाई गड्डाचौकी क्षेत्रमा परिचित बनाएको थियो। बुबासँगै होटल व्यवसायमा सक्रिय रहेका बिक्की समयमै उपचार नपाउँदा ज्यान गुमाउनुपरेको हो।
एकै परिवारका दुई सदस्यको एउटै दिन निधन भएपछि राना परिवारमा असहनीय पीडा परेको छ। गाउँलेहरू भने मिलनसार र सहयोगी स्वभावका दान बहादुरको अकालमा निधनप्रति दुःख व्यक्त गर्दै परिवारप्रति समवेदना प्रकट गरेका छन्।

