धनगढी: जेन–जी आन्दोलनका क्रममा नेपाल प्रहरीको डीएसपी हो भन्दै सडकमा मरणासन्न हुने गरी एक व्यक्तिमाथि कुटपिट भएको भिडियो भाइरल बन्यो । रक्ताम्य भएका ती व्यक्तिमाथि प्रदर्शनकारीले निरन्तर कुटपिट गरेको भिडियोमा देखिन्छ । तर, ती व्यक्ति डीएसपी थिएनन् । उनी थिए, प्रहरी जवान उत्तम थापा । दार्चुलाको लेकम गाउँपालिका– ३ का थापा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए । २४ भदौमा भएको जेन–जी आन्दोलनमा निर्घात कुटपिट भएपछि उनको मृत्यु भएको थियो । थापाको मृत्युले उनको परिवार सहाराविहीन बनेको छ । नौ वर्षअघि प्रहरी सेवामा प्रवेश गरेका थापाले झण्डै आठ वर्षअघि बुवा हरिसिंह गुमाएका थिए । भाइ महेशको पनि नौ महिनाअघि लालीमै भिरबाट लडेर मृत्यु भएपछि उनी आफ्नो परिवारको एक्लो सहारा थिए ।
‘दैव पनि कति निष्ठुरी हुने रैुछन्,’ भाइ महेशको मृत्युपछि उत्तमले नौ महिनाअघि सामाजिक सञ्जालमा लेखेका थिए, ‘लाऊँलाऊँ र खाऊँखाऊँ भन्ने उमेरमै लगिस् । जति लेखे पनि मेरो भाइ आउने होइन ।’ नौ महिनाअघि महेश र अहिले उनका दाइ उत्तमको मृत्युले सिङ्गो लाली क्षेत्र र दार्चुला जिल्ला नै शोकमा डुबेको मृतक प्रहरी जवान थापाका काका सुरेशसिंह थापाले बताए । ‘अब परिवारमा ५७ वर्षीया उत्तमकी आमा निर्मला र श्रीमती पुष्पा छिन्,’ लेकम गाउँपालिका वडा नम्बर ३ का अध्यक्षसमेत रहेका सुरेशसिंहले भने, ‘श्रीमान् गुमाएको पीडा भुल्न नपाउँदै नौ महिनाको अवधिमा दुई छोराको मृत्यु भएपछि उत्तमकी आमाको अवस्था ठीक छैन । बेहोस छिन् ।’
थापाको अन्त्येष्टि पशुपतिघाटमा गरेपछि अहिले उनका काका रूपसिंह थापा कञ्चनपुरको महेन्द्रनगरमा किरिया बसेका छन् । उनकी श्रीमती पुष्पा पनि त्यतै छन् । आमा निर्मला भने लालीमै छिन् । पुत्रवियोगको पीडा भुलाउन आफन्तले सम्झाउने प्रयास गरिरहेका छन् । तर, त्यो सम्भवन भइरहेको छैन । उत्तममाथि आक्रमण भएकै दिन २४ भदौमा उनले सामाजिक सञ्जाल टिकटकमा एउटा भिडियो राखेका छन् । ‘अब घर आउन चार दिन बाँकी छ,’ आफ्नो र श्रीमतीको फोटो राख्दै उनले लेखेका थिए । थापाको मृत्युपछि अहिले उक्त टिकटक पनि भाइरल भइरहेको छ ।

