धनगढी । बझाङमा कारागारबाट भागेका कैदीले प्रहरीले नियन्त्रणमा लिन खोज्दा भीरबाट हाम फालेपछि गम्भीर घाइते भएका छन् । घाइते हुनेमा कर्तव्य ज्यान सम्बन्धि मुद्दामा सजाय भोगिरहेका जाजरकोटको भेरी नगरपालिका-४ का उदिप भनिने रोहित सुनार रहेको बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) खगेन्द्रप्रसाद धमलाले जानकारी दिए ।
उनकाअनुसार सुनारलाई बित्थडचिर गाउँपालिका क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । सोही क्रममा उनले भीरबाट हाम फालेका सुनार करीब तीन सय मिटर तल खसेका थिए । उनको ढाड र घाँटीमा गम्भीर चोट लागेको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत सुनारको शल्यक्रिया गर्नुपर्ने भएको छ । उनको स्वास्थ अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उनीसँगै भागेका कर्तव्य ज्यान मुद्दाकै कैदी चन्द्रबहादुर पुनलाई भने प्रहरीले पक्राउ गरेको छ।


