धनगढी । धनगढी–५ शिवनगरमा अवस्थित चैतन्य पाठशालाले आफ्नो प्रतिष्ठामाथि लक्षित भई हालैका दिनमा आएको विभिन्न टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ। विद्यालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पूर्व कर्मचारी भरत विक्रम शाहको जेनजी आन्दोलनमा व्यक्तिगत संलग्नता भएलाका कारण सामाजिक सञ्जालमार्फत संस्थाबारे भ्रमपूर्ण र अप्रामाणिक प्रचार गरेको भन्दै आपत्ति जनाएको हो।
विज्ञप्तिमा भनिएको छ, “चैतन्य पाठशाला शुद्ध शिक्षा र संस्कारको मन्दिर हो। संस्थामाथि भएको यस्ता निराधार टिप्पणीले संस्थाको छवि, सरोकारवाला र शुभेच्छुक व्यक्तिहरूमा नकारात्मक प्रभाव पार्ने प्रयास भएको छ।” विद्यालय प्रशासनले यस्ता गतिविधिबाट प्रभावित नहुन आग्रह गर्दै पूर्व कर्मचारी शाह संग सम्बन्धित विषय विद्यालयसँग कुनै सरोकार नरहेको स्पष्ट पारेको छ।
विद्यालयले शिक्षा र संस्कारको निरन्तर उन्नतिका लागि आफू सधैं समर्पित रहेको उल्लेख गर्दै विद्यार्थी, अभिभावक र सरोकारवालालाई सकारात्मक सहयोग र मार्गनिर्देशनका लागि आग्रह गरेको छ।

