कञ्चनपुर:कञ्चनपुर जिल्ला प्रशासन कार्यालयले भीडभाड र सम्भावित अशान्ति रोकथामका लागि महेन्द्रनगर बजार क्षेत्र तथा पालिका केन्द्र आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मण वगलकोलले मंगलबार जारी गरेको आदेशअनुसार साउन २४ गते बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्म निषेधाज्ञा लागु हुने जनाएको छ।
निषेधाज्ञाको अवधिमा पाँच जनाभन्दा बढी भेला, जुलुस, सभा, प्रदर्शन, धर्ना, र्याली जस्ता गतिविधि गर्न पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ। यस आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। प्रशासनले दिएको जानकारीअनुसार महेन्द्रनगर बजार र त्यस आसपास तीन किलोमिटर क्षेत्र, पूर्व–पश्चिम राजमार्गको दायाँबायाँ तीन किलोमिटर क्षेत्र, बेलौरी, पुनर्वास, बेलडाँडी, लालझाडीका पालिका केन्द्र भित्रका बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको हो।
जेनजी पुस्ताको आन्दोलनले उग्र रुप लिएपछि निषेधाज्ञा लगाइएको बुझिएको छ। अहिलेसम्म त्यहाँ जिल्ला प्रशासन कार्यालय, विभिन्न पार्टी कार्यालयसहित सरकारी कार्यालयमा आगजनी र तोडफोड भैसकेको छ।

