बझाङ । बिरामी आमाको उपचार गराउने, श्रमका लागि भारत धाउनुपर्ने बाध्यता अन्त्य गर्ने, बेपत्ता भएका बुवालाई खोज्ने र भाइहरूको उज्ज्वल भविष्य सुनिश्चित गर्ने सपना बोकेका थिए बझाङका सुवास बोहरा। तर, ती सबै सपना अधुरै छाडेर उनी सधैंका लागि विदा भए। खप्तडछान्ना गाउँपालिका–७ गोरखालीका २३ वर्षीय सुवासको सोमबार दिउँसो संसद भवन अगाडिको प्रदर्शनस्थल नजिकै गोली लागी मृत्यु भयो ।
चार महिनादेखि बुबासँग सम्पर्क छैन। आमा भारतमा श्रम गर्दै उपचार गराइरहेकी थिइन्। छोरा सुवास जापान जाने तयारीमा काठमाडौँ आएका थिए। तर, त्यही बेला आन्दोलनमा परेर उनले ज्यान गुमाए। सुवासले प्लस–टु सकेर केही महिनाअघि जापानी भाषा सिक्न काठमाडौँ आएका थिए। जापान उड्ने तयारीमा भए पनि आर्थिक अभावले प्रस्थान मिति पर्खिरहेका थिए। उनका आफन्त प्रदीप खड्काका अनुसार रकम जुटाउन नसक्दा उनी निकै संघर्षरत थिए। तर, उडान भर्नुअघि नै उनको जीवन अन्त्य भयो।
हाल उनको शव काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलमा राखिएको छ। गाउँमा पढाइ राम्रो नभएको र आर्थिक अवस्था कमजोर भएकाले उनले आफ्नै भाइलाई पनि काठमाडौँमा साथमा राखेका थिए। आफू जापान गएपछि भाइलाई राम्रो स्कुलमा पढाउने उनको सपना अधुरै रह्यो। बिरामी आमालाई छोराको निधनको खबरले विक्षिप्त बनाएको छ। आमा अहिले भारतबाट काठमाडौँ आउने तयारीमा छिन्, छोराको अनुहार अन्तिम पटक देख्न।


