धनगढी । मुलुकमा बढ्दो भ्रष्टाचार, बेथिति र सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको भन्दै जेनेरेसन जी (जेनजी) पुस्ताले सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा पनि सशक्त प्रदर्शन गरेको छ ।
सोमबार युवाहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र जिल्ला प्रशासन कार्यालय अगाडि भेला भएर सङ्घीय तथा प्रदेश सरकारविरुद्ध चर्को नाराबाजी गरेका हुन् ।
’गणतन्त्र र समाजवादका नाममा लुटतन्त्र’ चलाइएको भन्दै आक्रोशित युवाहरूले प्रधानमन्त्री र मुख्यमन्त्री विरुद्ध नाराबाजी गर्दै तत्काल भ्रष्ट प्रणाली अन्त्यको माग गरेका छन् । कुनै राजनीतिक दलको ब्यानर बिना स्वतन्त्र रूपमा सडकमा उत्रिएका उनीहरूले देशमा नेता र तिनका आसेपासेले राज्यको दोहन गरेको र युवाहरूलाई बिदेसिन बाध्य पारेको आरोप लगाएका छन्।
प्रदर्शनको मुख्य कारणहरूमध्ये एक सरकारले हालै गरेको सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पनि हो ।भ्रष्टाचारका काण्डहरू बाहिर आउन थालेपछि नागरिकको आवाज दबाउन सरकारले यस्तो कदम चालेको प्रदर्शनकारीहरूको आरोप छ ।
युवाहरूको यो स्वतन्त्र र सङ्गठित आन्दोलनले देशव्यापी रूपमा भ्रष्टाचार र कुशासनविरुद्ध एक नयाँ उभार ल्याएको देखिन्छ, जसले स्थापित राजनीतिक शक्तिलाई गम्भीर चुनौती दिएको छ ।

