धनगढी: अपांगता तथा अटिजम बालबालिकाका लागि शिक्षण–सिकाइ क्रियाकलाप सम्बन्धी शिक्षक तालिम धनगढीमा सुरु भएको छ। राष्ट्रिय अटिजम केयर सेन्टर सोसाइटी नेपाल, धनगढी–कैलालीको आयोजनामा र एबिलिस फाउन्डेसनको आर्थिक सहयोगमा तालिम सुरु गरिएको हो। सोसाइटीका अध्यक्ष रमेश बस्नेतका अनुसार तालिममा अपांगता तथा अटिजम विज्ञ रमा कार्की र सपना शाहले प्रशिक्षण दिनेछन्। उनीहरूले अटिजम भएका बालबालिकासँग कसरी व्यवहार गर्ने, सिकाइ प्रक्रियामा कसरी सहज बनाउन सकिन्छ भन्नेबारे शिक्षक र अभिभावकलाई प्रशिक्षण प्रदान गर्ने बताए।
तालिममा स्नायु प्रणाली, सामाजिक सम्बन्ध, सञ्चार, व्यवहार र सिकाइ, शारीरिक, मानसिक तथा बौद्धिक क्षमतासम्बन्धी विषयमा विस्तृत रूपमा प्रशिक्षण दिइनेछ। साथै, व्यक्तिगत शिक्षण योजना , परिवार र विद्यालयबीचको सहकार्य, समावेशी शिक्षा, अभिभावक तथा परिवारको भूमिका लगायतका विषयमा समेत छलफल हुने आयोजकले जनाएका छन्। अध्यक्ष बस्नेतका अनुसार, यस्ता तालिमले शिक्षक, अभिभावक र समाजलाई अटिजम तथा अपांगता भएका बालबालिकालाई बुझ्न, स्वीकार गर्न र उनीहरूको शिक्षण–सिकाइलाई सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।


