धनगढी । विद्युतको हाइटेन्सनलाइन मुनि थुपारिएको बालुवामा खेल्ने क्रममा मृत्यु भएका बैतडी डिलासैनी गाउँपालिकाका १४ वर्षीय बालक किराण कोली मृत्युका विषयमा जाहेरी दर्ता भएको छ ।बुधबार जिल्ला प्रहरी कार्यालय बैतडीमा सरुवा भइ आउनुभएका प्रहरी नायव उपरीक्षक दिपककुमार रायले सञ्चारकर्मीसँगको परिचयात्मक कार्यक्रममा सो कुरा बताए । उनले भने ,“ गएको साउन १७ गते डिलासनी गाउँपालिका–३, गिरिबगडका १४ वर्षीय बालक किरण कोलीको बालुवाको थुप्रोमा खेल्नेक्रममा करेन्ट लागेर मृत्यु भएको विषयमा ज्यान सम्बन्धी कसुरमा मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको छ ।” उनले पीडित परिवारले हुलाकबाट दिएको पुरक जोहेरीसमेत प्राप्त भएकाले सोमाथि पनि अनुसन्धान भइरहेको बताए ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले साउन १७ गते बालकको करेन्ट लागेर मृत्यु भएपछि मृतक बालकका बाजे हरिचन्द्र कोलीले दिनु भएको जाहेरी साउन २१ गते नै दर्ता भएको बताए । उनले भने “ घटनास्थल दार्चुलाको गोकुलेश्वर स्थित इलाका प्रहरी कार्यालय नजिक पर्ने भएकाले मृतकका आफन्तले साउन १८ गते त्यहाँ जाहेरी दिएका हुन् । सो जाहेरी गोकुलेश्वर प्रहरीको समन्वयमा बैतडी आइपुगेपछि साउन २१ गते इलाका प्रहरी कार्यालय पाटन, बैतडीमा ज्यान सम्बन्धी मुद्दा नं।८–२०८२÷०८३ दर्ता भएको छ । पीडित परिवारले हुलाकमार्फत दिएको पुरक जाहेरी पनि प्राप्त भइ अनुसन्धान भइरहेको छ ।”
अहिलेसम्म कुनै व्यक्ति पक्राउ नपरेको सञ्चारकर्मीको प्रश्नमा उनले घटनामा प्रहरीले कुनै कसुर बाँकी नराखी अनुसन्धान भइरहेकाले ‘पहिले सुन्ने, अनि थुन्ने’ बताए ।
भदौ पहिलो साता प्रहरीले जाहेरी लिन नमानेपछि हुलाकमार्फत पठाएको मृतक बालकका सहोदर काका तुलाराम कोलीले बताए । बालककी आमा राजमति कोलीले श्रीमान्को केही वर्षअघि मृत्यु भएपछि आफू एकल महिला भएकाले गाउँले र छिमेकीले सहयोग नगरेपछि वैदेशीक रोजगारीमा रहेका देवरलाई घर बोलाएको बताइन् ।

