धनगढी । गएरातिदेखिको अविरल वर्षाका कारण महाकाली नदीमा पानीको बहाब उच्च भएपछि शारदा ब्यारेजमा सवारी आवागमनमा रोक लगाइएको छ ।
सोमबार बिहान नदीमा पानीको बहाब बढेर एक लाख ५१ हजार क्युुसेक नाघेपछि शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन आवागमन रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० सागर बोहराले बताए ।
उनकाअनुसार शारदा ब्यारेजमा अहिले दुई पाङ्ग्रे सवारीसाधन मात्र चलिरहेका छन् । पानीको बहाब एक लाख क्युसेक नाघेपछि कञ्चनपुरलाई भारतको वनबासासँग जोड्ने शारदा ब्यारेजमा चार पाङ्ग्रे सवारीसाधन बन्द गरिदै आएको छ ।
यसैबीच लगातारको वर्षाका कारण कञ्चनपुरका विभिन्न क्षेत्रमा डुबानमा परेका छन् । गएरातिदेखिको अविरल वर्षाले जोगबुढा नदीको पानी बस्तिमा पस्दा दोधाराचाँदनी नगरपालिका( ८ को रामपुरे टापुस्थित जर्गाटोलका २५ घर डुबानमा परेका छन् ।
डीएसपी बोहराकाअनुसार घर डुबानमा परेपछि ७० जनालाई जनज्योति माध्यमिक विद्यालयमा सुरक्षित राखिएको छ ।
वडा नम्बर ११ मा पनि पाँच वटा घरमा पानी पसेको छ । अहिले प्रहरी चौकि बाबाथान र इलाका प्रहरी कार्यालय दोधाराचाँदनीको टोली त्यहाँ पुगेर उद्दारको काम गरिरहेको छ ।

