धनगढी । टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइँ संस्थामा नेतृत्व चयनका लागि दलीय उम्मेदवारहरु खडा भए पनि नतीजा मिश्रित आएको छ । खानेपानीमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले प्यानलसहितको उम्मेदवारी दिएका थिए ।
नौ सदस्यीय कार्यसमितिका लागि साउन ३० गते भएको निर्वाचनमा तीन हजार ६९३ मतदाताले मतदान गरेका थिए मतगणना आइतबार राति सकिएको छ । मतगणनाको नतिजा अनुसार नेपाली कांगे्रसको प्यानलबाट अध्यक्षमा खडग धामीले एक हजार २३८ मत, कोषाध्यक्षमा हिरासिंह विष्ट एक हजार ११० मत, उपाध्यक्षमा नेकपा एकीकृत समाजवादी बाट सीतादेवी चौधरी एक हजार ५१ मत र सचिवमा नेकपा एमाले बाट प्रकाश खडका सात ७३ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
यसैगरी, सदस्य पदमा नेपाली कांगे्रसका डम्बरबहादुर नायक, जानकी आचार्य, नेकपा ९एमाले०बाट बमबहादुर ओली, जाल्पा भट्टराई र एकीकृत समाजवादीबाट तेजे ठकुल्ला निर्वाचित हुनुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार श्रृजना शर्मा पण्डितले चार ४४ मत पाउनुभयो भने नागरिक उन्मुक्तिबाट अध्यक्षका उम्मेदवार विश्राम चौधरीले तीन ८८ मत पाउनु भयो ।
कूल आठ हजार ६७० उपभोक्ता रहेको खानेपानीमा असार मसान्तमा बील भुक्तानी गरेका छ हजार ७९२ जना मतदाता सूचीमा रहेका थिए । खसेका मतमध्ये दोहोरो चिन्ह लगायका, कोठा बाहिर चिनो लगाएका र खाली छोडेका गरी नौ ३७ मत बदर भएका निर्वाचन अधिकृत श्यामराज पाण्डेले जानकारी दिए ।
नयाँ निर्वाचित अध्यक्ष खड्ग धामीले आफूले गरेको संस्थामा आर्थिक पारदर्शीता र स्वच्छ खानेपानी वितरण गर्ने प्रतिवद्धता पूरा गर्ने बताए ।
खानेपानीका यसअघिका कार्यसमितिले संस्थाको लाखौं रुपियाँ पेश्की लिएर व्यक्तिगत काममा खर्च गरेका थिए । सचिव मनिष बलायरले सात लाख ७० हजार पेश्की लिएर कार्यकालभरी चलाउनु भएको थियो भने अघिल्ला कार्यसमितिका उपाध्यक्षले लिएको दस लाख पेश्की अझै असूल भएको छैन । १५ लाख ७५ हजार लिटर क्षमताका चारवटा आकाशे ट्याङ्कीमार्फत पानी वितरण गर्दै आएको खानेपानीले गत वर्ष पानी महसुल र धारा जडानबाट ६६ लाख र पानीको महसुलबाट तीन करोड ४२ लाख आम्दानी गरेको छ । खानेपानीले नगर विकास कोषको १३ करोड आठ लाख ऋण तिर्न बाँकी छ ।

