धनगढी— कैलाली कारागारमा भएको घटनामा घाइते भएका कैदीहरु अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । घाइतेहरुको अवस्था बुझ्नका लागि आइतबार बिहानदेखि अस्पताल पुगेका आफन्तहरु भने उनीहरुलाई प्रत्यक्ष भेट्न नपाएको गुनासो गरेका छन् । कारागारमा भएको घटनाबाट घाइते भएका छोरा भेट्न अस्पताल पुगेका ठागुराम चौधरीले कारागार तथा प्रहरी प्रशासनकै गल्तीका कारण यो घटना घटेको बताए ।
महेन्द्रनगरबाट आफन्त भेट्न अस्पताल पुगेकी रमिला खडायत कुँवरले कारागार तथा प्रहरी प्रशासनकै कारण यो घटना घटेको बताइन् । सहकारीको मुद्धामा कारागार चलान भएका आफन्त घाइते भएपछि भेटन आएको उनले बताइन् । तरपनि घाइते आफन्तलाई अस्पतालले भेट्न नदिएको उनले गुनासो गरिन् । महेन्द्रनगर घाइते आफन्त भेट्न अस्पताल आएकि धनेश्वरी खडायतले प्रशासनकै कमजोरीले घटना भएपनि घाइते आफन्त समेत भेट्न नपाएको गुनासो गरिन् । घाइतेको टाउको लगायतका सबेंदनशिल ठाउँमा चोट रहेको जानकारी पाएपनि भेट्न नपाएको उनले बताइन् ।
अस्पताल प्रशासनका अनुसार घाइतेहरुलाई विशेष निगरानीमा राखिएको छ र सुरक्षाको कारण देखाउँदै भेटघाटमा रोक लगाइएको हो । “अहिले सुरक्षा संवेदनशीलता उच्च भएको कारण घाइतेहरुसँग प्रत्यक्ष भेटघाट सम्भव छैन,” एक अस्पताल अधिकारीले बताएका छन् ।
आफन्तहरुले भने कम्तीमा उनीहरुको स्वास्थ्य अवस्थाबारे नजिकबाट जानकारी पाउन पाउनु पर्ने माग गरेका छन् । कैलाली कारागारमा भएको झडपका कारण केही प्रहरीसहित कैदीहरु घाइते भएका थिए। उनीहरु मध्ये गम्भीर घाइतेहरुलाई तत्काल सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो ।
शुक्रबार राती कारागारमा सुतिरहेका कैदीबन्दीमाथि कैदीबन्दीकै अर्को समूहले सांघातिक हमला गर्दा एक जना कैदीबन्दीको मृत्यु हुनुका साथै ४८ जना घाइते भएका थिए । धनगढी उपमहानगरपालिका ४, का भरत चौधरीको मृत्यु भएको थियो । गम्भीर घाइते आयुष भट्टलाई थप उपचारका लागि नेपाली सेनाको स्काइ टकबाट शनिबार बेलुकी काठमाडौँ लगिएको थियो । घाइते एक जनाको निसर्ग अस्पताल र अन्यको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको सूचना अधिकारी जोशीले जानकारी दिए ।

