कञ्चनपुर । नेकपा एमाले स्थायी कमिटी सदस्य एवं जनसंगठन संयन्त्र इञ्चार्ज भानुभक्त ढकालले पार्टीका आन्तरिक विषय सार्वजनिकरूपमा उठाउने अभ्यास पार्टी अनुशासनविपरीत भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशद्वारा कञ्चनपुरमा आयोजित पत्रकार प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै ढकालले पार्टीको आलोचना गर्ने अधिकार भए पनि सम्बन्धित ठाउँमा राखिनुपर्ने बताएका छन् ।
‘केपी ओली बिनाको एमाले बनाऊँ भन्न पाइन्छ, म बन्छु, उहाँभन्दा राम्रो चलाउँछु भन्न पनि पाइन्छ । तर, भन्ने कुरा ठाउँमा भन्नुपर्छ, कुठाउँमा भन्नु हुँदैन ।’
दुई कार्यकालको सीमा र ७० वर्षको उमेर हदबन्दी हटाउने निर्णय कुनै व्यक्ति विशेषका लागि नभई, पार्टीको सामूहिक सोचविचारको उपज भएको ढकालको भनाइ थियो ।
उनले भने, ‘यो निर्णय सचिवालय, पोलिटब्युरो र केन्द्रीय कमिटीको सोच विचारबाट भएको हो । महाधिवेशनमा लड्न छुट त सबैसँग छ तर विधि र विधानविपरीत हल्ला गर्दै हिँड्नु अनूचित हो ।’
यस्ता गतिविधि पार्टी नीति विपरीत, नैतिकता विहीन र गैरजिम्मेवार हुने भन्दै ढकालले भने, ‘पार्टीभित्र सबैले ओली चाहिन्छ भन्नुहुन्छ, बैठकमा पनि उहाँकै नेतृत्वमा पार्टी अघि बढोस् भन्ने चाहना छ तर बाहिर देशी-विदेशी षड्यन्त्रसँग सहमत हुने कुरा पार्टी हित विपरीत हुन्छ ।’
‘मिसन ०८४’ को कमाण्ड केपी शर्मा ओली नै रहने कुरामा पनि ढकालले प्रष्ट पारे । उनले थपे, ‘यस विषयमा पार्टीभित्र सर्वसम्मत निर्णय भइसकेको छ । यो पार्टीको सर्वसम्मत फैसला हो ।’


