दार्चुला — भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाध मंगलबार बिहानैबाट खोलिएको छ । सोमबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार बिहान ६ बजेदेखि बाँधका ढोका खोलिने हुनाले महाकाली नदी किनारमा नजान र सतर्कता अपनाउन भनेको हो ।
एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको पत्रअनुसार परियोजनाको बाँध बिहान ६ बजेदेखि बुधबार बिहान ६ बजेसम्म खोलिने जनाएको छ । बाँध खोलेका बेला र त्यसपश्चात् केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहनसिंह धामीद्वारा जारी सूचनामा जनाएको छ । उनले भारतबाट प्राप्त पत्रअनुसार सिल्ट सरसफाइका लागि बाँध खोलिन लागेको जनाए ।
दार्चुला सदरमुकाम आसपास बिहान ८ बजेसम्म महाकालीको बहाव बढ्दै गएको छ । उल्लेख रुपमा नदीको बहाव आएको छैन । खलंगाका स्थानीय गणेश दत्त बडूले भने, धौलीगंगाको बाँध खोलिएको ३/४ घण्टापछि सदरमुकाम नजिकतिर नदीमा पानीको बहाव उल्लेख रुपमा बढ्ने गर्छ । अहिले नदीको बहाव अन्य दिनको तुलनामा केही बढेको उनले बताए । उनले ९/१० बजेपछि उल्लेख मात्रामा बढ्न सक्ने बताए । दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो ।


