कञ्चनपुर — असार अन्तिम साता कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतेकी कमला आउजीको सर्पदंशबाट मृत्यु भएपछि नगरपालिकाले तत्काल सबै वडा कार्यालयलाई छाउगोठ भत्काउन निर्देशन दिएको थियो । १५ दिनभित्र छाउगोठ नभत्काए कानुन अनुसार कारबाही र १० हजार जरिवाना गर्ने चेतावनीसमेत दिएको थियो । घटनालगत्तै छाउगोठ भत्काउने अभियान ताते पनि अहिले भने सुस्ताएको छ । मृतक कमलाकै घरअगाडिको छाउगोठ र उनको जेठानी अस्मिताको छाउगोठ घटना भएको भोलिपल्टै भत्काइयो । त्यसपछि वरिपरिका केही छाउगोठ भत्काइए । तर, त्यहीँबाट अभियान रोकियो । ‘एक–दुई दिन त जनप्रतिनिधिदेखि सबै ताते, तर अहिले सबै चुप लागे,’ कृष्णपुर–१ निगालीकी सरस्वती मल्लले भनिन्, ‘दुई–चार वटा छाउगोठ भत्काइए, त्यसपछि स्थानीयले पनि मानेनन्, जनप्रतिनिधि पनि आउन छाडे ।’
कृष्णपुरका नगरप्रमुख हेमराज ओझाका अनुसार गत सातासम्म निगाली क्षेत्रमा १८ छाउगोठ भत्काइएका छन् । ‘यो काम एकैचोटि हुँदैन, बिस्तारै सबैलाई सम्झाउँदै गर्नुपर्ने हुन्छ,’ उनले भने, ‘कसैको धानखेत छ, कतै राजनीतिको कारणले पनि अवरोध भइरहेको छ ।’ उनका अनुसार केही व्यक्तिले संस्कृति भन्दै छाउगोठ भत्काउन अवरोध गरेका छन् । अहिले जनप्रतिनिधि, गैरसरकारी संस्था र सुरक्षाकर्मीको टोलीले तथ्यांक संकलन गरिरहेको र तथ्यांक आएपछि फेरि अभियान सुरु गरिने उनको भनाइ छ ।
नगरपालिकाले दिएको चेतावनीअनुसार १५ दिनभित्र सबै छाउगोठ भत्काइएका छैनन्, न त कसैलाई कारबाही नै भएको छ । कृष्णपुरले गत वर्ष वडा–१ को कुमगडामा ४ छाउगोठ भत्काएको थियो । तर, त्यसपछि स्थानीयको विरोध र टोलीमाथि हातपात भएपछि अभियान रोकिएको वडा–१ का अध्यक्ष मोहन बस्नेतले बताए । उनका अनुसार वडाभर १२६ छाउगोठ छन् र भत्काउन कार्यपालिका सदस्य रत्ना बोहराको संयोजकत्वमा समिति बनेको छ ।
मुलुकी अपराध संहिता २०७४ ले छाउपडी प्रथालाई भेदभाव तथा अपमानजन्य व्यवहारका रूपमा लिएको छ । दफा १६८ को उपदफा ३ अनुसार महिलालाई रजस्वला वा सुत्केरी अवस्थामा छाउपडीमा राख्न वा कुनै किसिमको भेदभाव, छुवाछुत वा अमानवीय व्यवहार गर्न नहुने व्यवस्था छ । उपदफा ४ अनुसार त्यस्तो गर्ने व्यक्तिलाई तीन महिना कैद वा तीन हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुने प्रावधान छ । राष्ट्रसेवकले उल्लंघन गरे थप तीन महिना कैद हुने व्यवस्था छ ।
नगरपालिकाले निर्देशन दिएको दोस्रो दिन असार ३० मा जिल्ला प्रशासन कार्यालयले पनि जिल्लाका नौ वटै स्थानीय तहलाई छाउगोठ भत्काउन अनुरोध गरेको थियो । तर, यसबारे तथ्यांक छैन । ‘हामीले सबै स्थानीय तहसँग अनुरोध गरेका हौं, तर अपडेट पाएका छैनौं,’ कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीले भने । कृष्णपुर नगरपालिका–१ की ३२ वर्षीया कमला आउजी दमाईलाई असार २७ गते छाउगोठमै सुतेका बेला सर्पले डसेको थियो । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।कान्तिपुरबाट


