धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले बाजुराको बडीमालिका मन्दिरका लागि सरकारी पूजा टोली पठाएको छ । पूजा सामग्रीसहितको सरकारी टोली आइतबार बिहान बडीमालिका मन्दिरका लागि प्रस्थान गरेको हो । बडीमालिका मन्दिरमा २३ साउनमा लाग्ने धार्मिक मेलाका अवसरमा उपमहानगरपालिकाले सरकारी पूजा टोली पठाएको नगरप्रमुख गोपाल हमालले बताए । उपमहानगरले सुदूरपश्चिमको प्रमुख शहर धनगढीमा सबै जिल्लाका नागरिकको बसोबास रहेको र बडीमालिकाप्रति आस्था रहेको हुँदा गत वर्षदेखि पूजा सामग्रीसहित सरकारी टोली पठाउन सुरु गरेको हो ।
धनगढीमा पूजाआजा गरी विधिवत् रूपमा सरकारी टोली बडीमालिकातर्फ प्रस्थान गरेको हो । राणाकालदेखि डोटीबाट गोर्खा पल्टन र जुम्लाबाट चन्द्रनाथको पल्टन बडीमालिका पठाउने परम्परा छ ।

