धनगढी: २० असारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो । प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्ना मन्त्रीलाई बिना कारण बर्खास्त गरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय नाउपाले गरेको थियो । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका रामेश्वर चौधरीलाई बर्खास्त गरेका थिए । सरकारमा सहभागी भएका दलले समर्थन फिर्ता लिए मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । ‘मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेशसभासमक्ष प्रस्ताव राख्नुपर्नेछ,’ संविधानको धारा १८८ को उपधारा २ मा व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार बिहीबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहले विश्वासको मतका लागि प्रस्ताव राखे र विश्वासको मत प्राप्त गरे । शाहले सभामा पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरे । ५३ सदस्यीय प्रदेशसभा (एक जना निलम्बित) मा कांग्रेसका १८, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका एक गरेर ३० जना प्रदेशसभा सदस्यले मुख्यमन्त्रीलाई विश्वासको मत दिएका हुन् । बैठकमा सहभागी माओवादी केन्द्रका १०, एकीकृत समाजवादीका ३, राप्रपा र स्वतन्त्र १/१ जना गरी १५ जना प्रदेशसभा सदस्यले विपक्षमा मतदान गरे ।
बैठकमा विपक्षी बेञ्चमा बसेका नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्य कैलाश चौधरीले भने मुख्यमन्त्रीले पेस गरेको प्रस्तावको पक्षमा मतदान गरेका थिए । नागरिक उन्मुक्ति पार्टीकै कारण मुख्यमन्त्री शाहले विश्वासको मत लिनु परेको थियो । तर, मुख्यमन्त्री शाहले सोही पार्टीका प्रदेशसभा सदस्यको पनि मत पाए । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेशसभा सदस्य छन् । बिहीबारको बैठकमा भने कैलाश चौधरी मात्रै सहभागी थिए । ‘बिहीबार बैठक सुरु हुँदासम्म पनि संसदीय दलको निर्देशन पर्खिरहेको थिएँ,’ प्रदेशसभा सदस्य चौधरीले भने, ‘तर, दलबाट कुनै निर्देशन आएन । पक्ष वा विपक्षमा मतदानका लागि ह्वीप पनि जारी भएको थिएन । स्वस्निर्णयका आधारमा मुख्यमन्त्रीलाई विश्वासको मत दिएको हुँ ।’
चौधरी पार्टीको केन्द्रीय अध्यक्षबाट बुधबार मात्रै हटाइएकी रञ्जिता श्रेष्ठ चौधरी पक्षका प्रदेशसभा सदस्य हुन् । पार्टीका अस्थिर निर्णयले समस्या भइरहेको बताउँदै प्रदेशसभा सदस्य चौधरीले सुदूरपश्चिम प्रदेश बनाउने जिम्मेवारी सत्ता र प्रतिपक्ष दुवैको भएका कारण पक्षमै मतदान गरेको बताए । ‘सरकार बनाउने र गिराउने खेलमा लाग्नुभन्दा जनताप्रतिको जिम्मेवारी बहन गर्न मुख्यमन्त्रीको पक्षमा मतदान गर्ने निर्णय लिएको हुँ,’ चौधरीले भने । यता नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले अधिकांश प्रदेशसभा सदस्य काठमाडौंमा रहेको र पार्टीले यसअघि नै विपक्षमा बस्ने निर्णय गरिसकेका कारण ह्वीप जारी गर्न आवश्यक नठानेको बताए । ‘सरकारलाई दिएको समर्थन फिर्ता लिएर एक महिनादेखि विपक्षमा बस्दै आएका छौँ,’ दलका नेता चौधरीले भने, ‘यस्तो अवस्थामा विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गर्नैपर्ने त हुँदैन होला नि । त्यत्तिकै बुझ्ने कुरा हो ।’
यता प्रदेशसभा सदस्य कैलाश चौधरीले विश्वासको मतको पक्षमा मतदान गरेसँगै नागरिक उन्मुक्ति फेरि सरकारमा सहभागी हुने चर्चा पनि चलेको छ । विश्वासको मत पाएपछि मुख्यमन्त्री शाहले पनि सोही संकेत गरेका छन् । ‘अहिले पनि हामी नागरिक उन्मुक्तिलाई जोड्ने प्रयासमा छौँ, नागरिक उन्मुक्तिका साथीहरूले छिटोभन्दा छिटो मन्त्रीको नाम दिनुहुन्छ भन्ने विश्वास छ,’ मुख्यमन्त्री शाहले भने । प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय एक महिनादेखि मुख्यमन्त्री शाहले आफैँसँग राखेका छन् । उक्त मन्त्रालयको नेतृत्वसहित नाउपा सरकारमा सहभागी हुने विश्वास मुख्यमन्त्री शाहको छ ।
संघीय सरकारमा पनि नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी हुने चर्चा छ । नागरिक उन्मुक्तिको बिहीबार सकिएको भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई अध्यक्ष बनाएको छ । लालवीर पार्टीका संरक्षक रेशम चौधरीका बुवा हुन् । उनी बर्दियाबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । पार्टीका संस्थापक नरहेका लालवीर ०७९ पुसलमा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए । लालवीरसँगै प्रतिनिधिसभा सदस्य गंगाराम चौधरी र कैलालीको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा अध्यक्षका दाबेदार थिए । गंगारामलाई मन्त्री बनाउने आश्वासन दिएर अध्यक्षको दाबेदारीबाट ुब्याकु गराइएको चर्चा छ ।


