धनगढी । बझाङको बुंगल नगरपालिका–७ मा अविरल वर्षापछि आएको बाढी र पहिरोले स्थानीय संरचनामा ठूलो क्षति पुर्याएको छ। घट्ठे खोलाको मुहानबाट आएको बाढीले घर, पानी घट्ट, सिँचाइ कुलो, मन्दिरलगायत संरचना बगाएको हो। नगर उपमेयर धनबहादुर बोहराका अनुसार पहिरो र बाढी मिसिएर आएको लेदोले स्थानीय कृष्णराज जोशीको घर पूर्ण रूपमा पुरेको छ। “अब त्यो घर बस्न मिल्दैन, छानोका स्लेट मात्र निकाल्न बाँकी छ,” उनले भने।
त्यस्तै डिला लोहार र ओकिल लोहारको घर, शौचालय र धान कुट्ने मिल पनि बाढीले क्षतिग्रस्त बनाएको छ। उनीहरूको घरमा रहेको अन्नपातसमेत नष्ट भएको छ। बाढीले ६ वटा पानी घट्ट र तिनका कुलोहरू पूर्ण रूपमा बगाएको छ भने करिब ८ वटा सिँचाइ कुलोसमेत नष्ट भएका छन्। स्थानीयको आस्थाको केन्द्र दहजार मन्दिरको परिसर पूरै लेदोले ढाकेको र अहिले मन्दिरको टुप्पो मात्र देखिने अवस्थामा रहेको उपमेयर बोहराले जानकारी दिए।
वडा अध्यक्ष टंकप्रसाद जोशीको पसलमा पनि बाढीको लेदो पसेको छ। उपमेयर बोहरा अनुसार, बुंगल नगरपालिका माथिल्लो भेग पहिरो र तल्लो भेग बाढीको उच्च जोखिममा छ। “कसैले पनि सुरक्षित स्थानमा घर बनाएका छैनन्, कच्ची सडकले पनि जोखिम बढाएको छ,” उनले भने। विपद् जोखिम न्यूनिकरणका लागि जनस्तरमा सचेतना कमजोर देखिएको भन्दै नगरपालिकाले उद्धारका लागि टोली परिचालन गर्ने तयारी गरिरहेको बोहराले बताए।
“स्रोतसाधन सीमित भए पनि उद्धार र पुनस्र्थापनामा सक्दो प्रयास गरिरहेका छौँ, यो हाम्रो जिम्मेवारी हो,” उनले स्पष्ट पारे। जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठुगन्नाका अनुसार बाढीको सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा पुगिसकेको छ र हाल मुचुल्का तयार गर्ने कार्य भइरहेको छ।


