धनगढी: कञ्चनपुरको भीमदत्त नगरपालिकाको उल्टाखामकी दुर्गा पन्तको घरमा प्रहरी आउन छाडेको झण्डै साढे दुई वर्ष भइसकेको थियो । दुर्गाले पनि जिल्ला प्रहरी कार्यालय धाउन छाडेको वर्षौं भइसकेको थियो । अचनाक डेढ महिनाअघि घरमा प्रहरी टोली पुगेको रहेछ । उनी नजिकैको आधारभूत स्वास्थ्य चौकीमा काममा थिइन् । घरमा रहेकी दुर्गाकी छोरीलाई आमा खै रु भन्दै प्रहरीले प्रश्न गरे । ‘आमा आधारभूत स्वास्थ्य चौकीमा काममा हुनुहुन्छ’ भन्दै जवाफ फर्काइन् । तर, ती प्रहरीले न दुर्गालाई भेट्यो, न त फोनमार्फत कुराकानी नै गर्यो ।
१० साउन २०७५ अर्थात् सात वर्षअघि दुर्गाकी १३ वर्षीया छोरी निर्मला पन्त साथीको घरबाट बेपत्ता भएकी थिइन् । भोलिपल्ट घर नजिकैको उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । घटनाको सात वर्षसम्म पनि प्रहरीले दोषी पत्ता लगाउन सकेको छैन । ‘डेढ महिनाअघि प्रहरी घरमै पुगेका रहेछन्,’ दुर्गाले भनिन्, ‘घटनाको अनुसन्धानमा केही प्रगति भइरहेको छ कि भन्ने झिनो आशा थियो । तर, मेरो खोजीमा आएका प्रहरी मलाई नभेटेरै फर्किए ।’
दुर्गामा मरिसकेको न्याय पाउने आशा १५ महिनाअघि पनि जागेको थियो । जब नेपाल सरकारको गृहमन्त्रीमा आफ्नै निर्वाचन क्षेत्रका रमेश लेखक नियुक्त भए । लेखक निर्मलाको न्यायिक आन्दोलनमा सहभागी भइसकेका नेता थिए । पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन राज्यलाई दबाब दिनेमध्ये अग्र मोर्चामा थिए कांग्रेसका नेता लेखक । ‘निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा अहिलेसम्म हत्यारा पत्ता लगाउन नसक्नु सरकारको असफलता हो,’ लेखक त्यो बेला भन्थे, ‘यसको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्छ ।’ निर्मलाको बलात्कारपछिको हत्या प्रकरणको नैतिक जिम्मेवारी गृहमन्त्रीले लिनुपर्ने भन्दै भाषण गर्ने नेता लेखक आफैँ गृहमन्त्री भएको १५ महिना पुगिसकेको छ । तर, अहिले उनी निर्मला पन्त घटनाबारे खुलेर बोल्न पनि चाहँदैनन् । ‘घटनाको सुक्ष्म रूपमा अनुसन्धान भइरहेको छ’ भन्दै उनी पन्छिने गरेका छन् ।
लेखक गृहमन्त्री भएको १५ महिनासम्म घटनाको अनुसन्धानमा केही प्रगति नभएपछि निर्मलाकी आमा दुर्गामा झन् निराशा बढेको छ । ‘आफ्नै निर्वाचन क्षेत्रबाट विजयी भएका रमेश लेखक गृहमन्त्री हुँदा न्याय पाइन्छ कि भन्ने झिनो आशा पलाएको थियो,’ दुर्गाले भनिन्, ‘उहाँ (रमेश लेखक)ले त निर्मलाको न्यायका लागि आन्दोलन पनि गरिसक्नुभएको थियो । न्याय माग्ने व्यक्ति न्याय दिने ठाउँमा पुगे पनि न्याय भने पाइएको छैन ।’ दुर्गाले दोषी पत्ता लगाउने राज्यको इच्छा नै नभएका कारण घटनाको अनुसन्धानमा प्रगति नदेखिएको आरोप लगाइन् । ‘दोषी पत्ता लगाएर न्याय दिने इच्छा भएको भए त उहिल्यै पत्ता लागिसक्ने थियो,’ दुर्गाले भनिन्, ‘त्यो इच्छा न सरकारमा देखिएको न त प्रहरीमा नै देखिएको छ । अब त आश मरिसक्यो ।’
यता प्रहरीले भने निर्मला पन्त हत्या घटनाको अनुसन्धान जारी राखेको जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुख तथा प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रकुवेर खापुङ निर्मला घटनाको अनुसन्धान अहिले पनि सीआईबीले गरिरहेको बताउँछन् । ‘अपराध घटनामा अनुसन्धान नसक्दासम्म नतिजा शून्य जस्तै देखिन्छ,’ एआईजी खापुङले भने, ‘अनुसन्धान सकिएपछि शून्यबाट सिधै सतप्रतिशत पुग्ने हो । निर्मला घटनामा पनि अहिले प्रगति शून्य जस्तै छ । घटनाबारे मिडियलाई दिन केही नयाँ नभए पनि हामीले घटनाको गम्भीर ढंगले अनुसन्धान गरिरहेका छौँ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराले अनुसन्धानका क्रममा ६५५ जनासंग विस्तृत रुपमा सोधपुछ भएको जानकारी दिए । घटनामा शंकास्पद मानिएका एक सय २४ जनाको डीएनए परीक्षण पनि भइसकेको डीएसपी बोहराले बताए ।


