कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकाले गरेको सरकारी सेवामा रहेका शिक्षक, कर्मचारी र जनप्रतिनिधिले अनिवार्य आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा पढाउनुपर्ने निर्णय कार्यान्वयन नगराउन अदालतले आदेश दिएको छ । सर्वोच्च अदालतको असार ३२ गतेको फैसलाले नगरपालिकाको नगरसभाबाट पारित भएको सो निर्णय कार्यान्वयन नगराउन नगरपालिकालाई आदेश दिएको हो ।
नगरपालिकाले २०८१ पुस २८ गतेको १६औँ नगरसभाबाट पारित भएको निर्णय कार्यान्वयन गराउने भन्दै २०८१ चैत्र २७ गते सूचना जारी गरेको थियो । सो सूचनामा भनिएको छ ‘नगरपालिका अन्तरगतका सम्पूर्ण जनप्रतिनिधि, सामुदायिक विद्यालयका विव्यस तथा शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्यका साथै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरूका सन्तति (छोरा, छोरी, नाति, नातिनी) लगायत एकाघरमा बस्ने सबै बालबालिकाहरूलाई शैक्षिक सत्र २०८२ देखी जुनसुकै स्थानमा भए पनि अनिवार्य रूपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने व्यवस्था मिलाउनुपर्ने छ ।’
नगरपालिकाले सूचना जारी गरेपछि नगरपालिकालाई विपक्षी बनाएर मन्जू कुमारी जोशीले अदालतमा मुद्दा दायर गरेकी थिइन ।


