धनगढी: साउन महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशका रानाथारू र कठरिया थारू समुदायमा ‘सावनको डोला’ (सावनियाँ डोला) को रौनक सुरु भएको छ ।
दुवै समुदायको बसोबास रहेका गाउँमा पूजाआजासहित विधिपूर्वक डोला राखेसँगै यसको रौनक सुरु भएको हो । रानाथारूले सावन (साउन) की डोला र कठरिया थारूले सवनियाँ डोला भन्ने गरे पनि खेल्ने र रमाउने तरिका भने मिल्दोजुल्दो छ । कैलाली, कञ्चनपुरमा बस्ने रानाथारू बस्तीमा श्रावण कृष्णपक्ष प्रतिपदाको दिन सावनकी डोला राखिएका छन् । काठको चार वटा खम्बा गाडेर त्यसको बिचमा काठकै बलियो डन्डी राखी डोला तयार पारिएको छ । डन्डीमा बलियो डोरी बाँध्ने र त्यसमा काठको फ्ल्याक राखेर गाउँका महिला सामूहिक रूपमा डोला (पिङ) खेल्ने चलन यो समुदायमा रहेको छ ।
रानाथारू समुदायमा साउन महिनामा परम्परादेखि नै डोला राख्ने र खेलेर रमाउने चलन रहेको छ । डोलालाई सजाएर महिलाले लोकभाकामा लोकगीत गाउने र डोलामा झुल्दै (खेल्दै) रमाउने चलन रहेको छ ।


